मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा २६ देशका फिल्म

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार ११:४३

काठमाडौं । नेपाल र विश्वभरका मानव अधिकार केन्द्रित चलचित्रहरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ १३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल काठमाडौंमा २६ देशका ५० चलचित्रहरू प्रदर्शन हुने भएकाे छ। मंसिर २५ देखि २९ गते नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका हलहरूमा हुने महोत्सवमा मूल विषयवस्तु ‘बाल अधिकार’ रहेको छ।

महोत्सवमा छानिएका धेरैजसो चलचित्रहरूले कान्स, बर्लिनाले, भेनिस र बुसान जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरू सहभागिता जनाइसकेका छन्। कान्स फिल्म फेस्टिभल २०२५ अन्तर्गत पाल्मे डी ओर (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’ महोत्सवको प्रमुख आकर्षण हो।

प्यालेस्टाइन, फ्रान्स र ग्रीसको सह-निर्माणमा बनेको यस फिल्मले बाल्यकालीन रहस्य र आघातलाई लिएर दुई दाजुभाइबीच निम्तिएको गहिरो तनावलाई देखाउँछ। कान्समै प्रिमियर भएको ‘नाभी लिली’ महोत्सवको अर्को आकर्षण हो। चीनको युनान प्रान्तस्थित ९ वर्षीया लिलीको साधारण जीवनमा अचानक एउटा घटनाले ल्याएको क्षतिलाई यस देखाउँछ।

बजिका भाषामा बनेको पहिलो फिचर फिल्म ‘आजुर’ पनि यस महोत्सवमा देखाइनेछ। यसले ग्रामीण बिहारमा सामाजिक अवरोधहरूको विरुद्धमा विद्यालय जान कटिबद्ध रहेकी सलोनी नामक पात्रमार्फत शिक्षाको महत्वलाई दर्शाउँछ। फिचर वृत्तचित्र खण्डमा ‘रेड लाइट टु लाइमलाइट’, ‘सट द भ्वाइस अफ फ्रिडम’ लगायत विश्वचर्चित वृत्तचित्र देखाइनेछ।

‘रेड लाइट टु लाइमलाइट’ कोलकाताका यौनकर्मीको दैनिक जीवनलाई पर्दामा उतारेको छ। ती यौनकर्मीका छोराछोरीमा सिनेमा निर्माण सम्बन्धी तालिमले ल्याएको आशा र परिवर्तनलाई यसले देखाएको छ। यो फिल्म ४१औँ आईडिए अवार्ड्समा दुई विधामा मनोनित भएको थियो।

महोत्सवका क्रममा विश्वभरका फिल्म निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीहरूको उपस्थितिमा अन्तरक्रियात्मक प्यानल छलफल, मास्टरक्लास, फोटो प्रदर्शनी, लाइभ पेन्टिङलगायत विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिने नेपाल मानवअधिकार चलचित्र केन्द्रका महासचिव आभास रिजालले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×