
विराटनगर । कोशी प्रदेश सरकारले गत वैशाखमा निकै तामझामका साथ आयोजना गरेको लगानी सम्मेलनको ‘नतिजा’ देखिन थालेको छ । १ खर्ब ५७ अर्बका ५१ वटा परियोजनाको भारी बोकेको यो अभियानमा केही लगानीकर्ता ‘फिल्ड’ मा ओर्लिएका छन् भने केही सम्झौतापत्र गोजीमा हालेर बेपत्ता भएका छन् ।
कोशी प्रदेश लगानी प्राधिकरणका सीईओ डा. सरोज कोइरालाका अनुसार केही आयोजनाले गति समातेका छन् । केही भने कानुनी र प्रक्रियागत उल्झनको चक्रव्यूहमा फसेका छन् । विराटनगरको रानीदेखि टंकीसिनुवारीसम्म ५ अर्ब खर्चेर चलाउने भनिएको ‘कोशी पोड्वे’ अहिले सबैभन्दा चर्चामा छ । चर्चा कामको होइन, लगानीकर्ताको छ । सम्झौता गर्ने कम्पनीका सञ्चालक अहिले सम्पर्कविहीन छन् । अहिले प्राधिकरणले अर्को कम्पनी ‘नेपाल पोड्वे’ सँग कुरा अगाडि बढाएको छ ।
सबै आयोजना निराशाजनक भने छैनन् । केही ठाउँमा इँटा थपिने र मेसिन चल्ने क्रम सुरु भइसकेको छ । १ अर्ब ४२ करोडको पाँचपखपन हाइड्रोपावरको लगानी सुनिश्चित भई निर्माण सुरु भएको छ । इटहरीको डाटा सेन्टरको काम अन्तिम चरणमा पुगेको छ ।
होटल एसियाटिकको फाइभ स्टार प्रोजेक्ट र आरआर हस्पिटलको निर्माण पनि अघि बढेको छ । धनकुटाको साँगुरीगढीमा एभोकाडो र किवी खेतीका लागि जग्गा व्यवस्थापन हुँदैछ भने इलामको देउमाईमा कफी फार्मका लागि बैंक प्रक्रिया अघि बढेको छ । बराहक्षेत्रको स्काई वाकका लागि जग्गाको बैना भइसकेको छ ।
सम्मेलनमा निकै गफ चुटिएको ‘कोदोको रक्सी’ ब्रान्डिङ गर्ने योजना भने डिस्टिलरी लाइसेन्सको झमेलामा रोकिएको छ । त्यस्तै, काँकडभिट्टाको बस टर्मिनल जग्गाको स्वामित्व विवादमा फसेको छ भने केही कृषि परियोजना वातावरणीय प्रभाव मूल्याङ्कन कुरेर बसेका छन् ।
कोशी रिफ्रेसमेन्ट सेन्टरका लागि धरान र बैतडीका ३ वटा कम्पनीले आशयपत्र बुझाएका छन् । ग्रिन हाइड्रोजन, सोलार र बायो इथानोल जस्ता ठूला आयोजनाहरू अहिले सर्भे र नीतिगत स्वीकृतिको चरणमा छन् ।
प्राधिकरणको दाबी अनुसार १५ देखि २० वटा प्रोजेक्ट दुई वर्षभित्रै तयार हुनेछन् । बाँकी प्रोजेक्टहरू पनि ४ देखि ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिले अधिकांश लगानीकर्ताहरू जग्गा प्राप्ति, डीपीआर परिमार्जन र बैंकको चक्कर लगाइरहेका छन् ।

























