
काठमाडौं । नेपालमा व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको छ ।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित समारोहमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले संस्थागत र व्यक्तिगत गरी प्यान लिने करदाताको संख्या ८० लाख पुगेको जानकारी दिए । यसले मुलुकका आर्थिक गतिविधि औपचारिक दायरामा आउँदै गएको र करको दायरा विस्तार भइरहेको देखाउने उनले बताए ।
‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित सुरु भएको कर सप्ताहका अवसरमा शर्माले कुल सरकारी राजस्व संकलनमा विभागको योगदान झन्डै ४५ प्रतिशत रहेको उल्लेख गरे । विभागले गत आर्थिक वर्षमा करिब ६ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा भने ७ खर्ब ७५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
राजस्व संकलनमा पछिल्लो समय सुधार देखिएको बताउँदै शर्माले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म १ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको जानकारी दिए । यो अवधिका लागि निर्धारित लक्ष्यको ९० प्रतिशत हो भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशत बढी हो ।
सूचना प्रविधिको प्रयोगमा आन्तरिक राजस्व विभाग सरकारी निकायमध्ये अग्रणी रहेको दाबी गर्दै शर्माले ९५ प्रतिशतभन्दा बढी सक्रिय करदाताले घर वा कार्यालयबाटै अनलाइनमार्फत कर विवरण दाखिला गरिरहेको बताए । ई–टीडीएस, क्यूआर, डिजिटल वालेट तथा बैंकिङ प्रणालीबाट कर भुक्तानी गर्ने व्यवस्था पनि पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको उनले जानकारी दिए ।
करदातालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभागले तयार पारेको अद्यावधिक करदाता पोर्टल आजैदेखि सञ्चालनमा ल्याइएको छ । समग्र कर प्रणाली सुधारका लागि विभागले चालु आर्थिक वर्षमा २८ बुँदे कर सुधार कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । यसैगरी, वार्षिक १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानलाई केन्द्रीय राजस्व सूचना प्रणालीमा आबद्ध गरिएको विभागले जनाएको छ ।



















