
विराटनगर । पुष ९ गते देखि १९ गते विराटनगरमा मोरङ उद्योग व्यापार संघले विराटनगर महानगरपालिका– १ शान्ति चोकमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना गर्दैछ । गत वर्ष उद्योग संगठन मोरङले डिग्री कलेज परिसरमा ट्रेड एक्स्पो आयोजना गरेको थियो । विराटनगरमा प्रदर्शनी स्थल नहुँदा ट्रेड एक्स्पोका लागि हरेक वर्ष स्थान फेरिरहनु परेको छ । विराट ट्रेड एक्स्पो र प्रदर्शनी स्थल नहुँदा निजी क्षेत्रले भोगिरहेको समस्याका विषयमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीसँग मुलुकी खबरले गरेको कुराकानी ।
विराट ट्रेड एक्स्पोको तयारी कस्तो भइरहेको छ ?
विराटनगरमा भब्य रुपमा आयोजना हुने विराट ट्रेड एक्स्पोको तयारी गरिरहेका छौं । हामी समय भन्दा अगाडि नै आफ्नो सम्पूर्ण तयारीहरु सम्पन्न गर्दैछौं ।
कति स्टल हुन्छन् अनि कहाँ–कहाँबाट स्टलहरु आएका छन् ?
हामीले जम्मा २३० स्टलहरु राखेका छौं । यसमा १८० स्टलहरु जति व्यवसायिक र औद्योगिक उत्पादनहरुको छ । त्यसबाहेक सर्भिस सेक्टरका पनि केही स्टलहरु राखेका छौँ । अटोमोबाइल सेक्टरबाट पनि २२ वटा स्टलहरु छन् । जम्मा २३० स्टलहरु हामीले राखेका छौँ । नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायत देशहरूबाट टोटल स्टलहरु आएका छन् । ८० प्रतिशत जतिका स्टलहरु हाम्रो नेपालकै व्यवसायी र औद्योगिक उत्पादनहरुबाट हामीले राखेका छौं ।

ट्रेड एक्स्पोमा कारोबार चाहिँ कति होला भन्ने अनुमान छ ?
आजको अर्थतन्त्रको अवस्था कमजोर छ । सम्पूर्ण कुरालाई हेर्दाखेरि हामी २० करोड भन्दा बढीको कारोबार गर्छाै जस्तो लाग्छ । तर, ट्रेड एक्स्पोको औचित्य र महत्व नयाँ व्यवसायीको नयाँ व्यवसायिक साझेदारी हुन सक्छ, नयाँ सम्भावनाहरुको आकलन गर्न सकिन्छ, नयाँ उद्यमशीलतालाई कसरी बढाउन सकिने त्यो उद्देश्यका साथमा हामीले एक्स्पो लगाएका छौँ ।
उद्यमशीलता विकासको सम्भावना कति देख्नुहुन्छ ? नयाँ उद्यमशीलताको विकास गर्ने आधारहरु कस्तो देखिन्छ ?
हामी नयाँ उद्यमशीलताको विकासको लागि एक्स्पोमा सेमिनारहरु गर्न लागेका छौँ । नौ दिनसम्म हामीले थिम्याटिक सेसनहरु गर्दैछौँ, त्यसमा हामीले २७ वटा प्रोग्रामहरु लिएर आएका छौँ । यसको खास नै हामी नयाँ उद्यमशीलतालाई अगाडि कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने हो । नयाँ व्यापार गर्दाखेरि भोगिराख्नु परेका कठिनाइहरु र त्यसमा कसरी सहजीकरण हुन सक्छ कुन विभागबाट या कुन ठाउँबाट के सहजीकरण गर्न सकिन्छ र गर्ने कसरी काम कारोबार कसरी गर्ने भन्ने विषयमा छलफल गर्छाैं । हामीले यसका लागि धेरै नै होमवर्क गरेका छौँ । हाम्रो मेन फोकस पनि उद्यमशीलतालाई कसरी अगाडि बढाउने र स्वदेशमै बसेर हाम्रा युवाहरु कसरी भोलिका दिनमा आफैँ नै आफ्नो काम कारोबार गर्न सकोस् भन्ने यसलाई हामीले एकदम महत्वपूर्णका साथमा अगाडि लिएर बढिरहेका छौँ ।
पहिले एक्स्पोहरुमा व्यापार बिजनेसको मात्रै स्टलहरु रहन्थे सांगितिक कार्यक्रमहरू हुन्थे, पछिल्लो समय थिमेटिक सेसनको प्रचलन बढिरहेको देखिन्छ नि ?
एक्स्पोमा विभिन्न कुराहरु हुन्छ । हामीले आफूले गरिरहेको व्यवसायसँग सम्बन्धित स्टल राख्छौँ । तर, अब हामीले भोलिका दिन नयाँ सम्भावनाहरु पनि खोज्नु पर्यो । हिजो अस्तिसम्म जसरी व्यापार गरिन्थ्यो आजको दिनमा व्यापारको स्वरुप पनि चेन्ज भएको छ । हिजो अब कुनै वस्तुको उत्पादनको लागि हामीले आफैँ नै आफैँ मानौँ नै एउटा प्लान्ट मेसिनरी राखेर उत्पादन गर्नुपर्ने जस्तो थियो भने आजको दिनमा मान्छेले आफू उत्पादन नगरिकन पनि एउटा आफ्नो व्यवसाय स्थापना गर्न सक्छ भन्रे डिजिटल युगमा देखिरहेका छौँ ।
आजको दिनमा व्यापारको स्वरुप नै एकदम चेन्ज भइसकेको छ । यसैलाई हामीले ध्यानमा राख्दै नयाँ पुस्ताहरुलाई कसरी अगाडि बढाउँदा उनीहरुलाई हामी आफ्नो आफूले सिकेको कुराहरु र हाम्रा एक्सपेरियन्सहरु पनि हामी उनीहरुको अगाडि राख्न सक्छौँ र उनीहरु आजको डिजिटल युगमा आफ्नो व्यवसायलाई कसरी अगाडि बढाउँदा राम्रो हुन सक्छ भन्ने यो सबै कुराहरु अब उनीहरु कलेजबाट निस्किसकेपछि आफ्नो पोस्ट ग्रेजुएशन गरिसकेपछि हामी व्यवहारिक रुपमा उनीहरुलाई अलिकति ट्रेन्ड गर्न सफल भयौँ भने पक्कै पनि उनीहरुमा भएको ऊर्जा उनीहरुको उद्यमशीलतालाई हामी अगाडि राख्न सक्छौँ । हाम्रो अहिलेको यो थिम्याटिक सेसनहरुको पनि फोकस एरिया पनि यही छ र पक्कै पनि यसले धेरै सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।

एक्स्पो हरेक वर्ष लाग्छन् तर हरेक वर्ष फरक–फरक स्थानमा भइरहेको छ, यो अवस्था किन सिर्जना भइरहेको छ ?
यो विडम्बना नै हो । हामीसँग एउटा स्थायी एक्स्पोको लागि कुनै पनि ग्राउण्ड नभएकोले गर्दा अरु जग्गाधनीहरुसँग जग्गा भाडामा लिनुपर्छ । हरेक वर्ष केही न केही ठाउँहरु खोजेर नै एक्स्पो लाउनुपर्ने स्थिति छ । यसले हाम्रो लागि पनि एउटा दुखद र चाहिएको भन्दा धेरै मेहेनत गरेर हामीले काम गर्नुपरेको छ । खर्च पनि एकदम अत्यधिक भइरहेको छ । एउटा स्थायी स्थान एक्स्पोको एक्जिबिसन ग्राउण्ड नै एउटा बनाइदिने हो भने यस्तो समस्या हुँदैन । महानगरपालिका र प्रदेश सरकारसँग हामी बारम्बार चाहिँ भनिरहेका छौँ । जबसम्म सरकारले प्रदर्शनी स्थल बनाउन सक्दैन तबसम्म हामीले यही तरिकाले नै एक्स्पो गर्नुपरेको स्थिति छ । एक्स्पो लगाउनका लागि हामी प्रदेश सरकारसँग र महानगरपालिकासँग पनि निरन्तर वार्तामा छौँ ।
विराटनगर औद्योगिक राजधानी पनि हो, यति ठूलो र पुरानो औद्योगिक इतिहास बोकेको सहरमा एउटा पनि प्रदर्शनी स्थल निर्माण गर्न नसक्नु चाहिँ निजी क्षेत्रको कमजोरी हो कि राज्यको पनि कमजोरी हो ?
यस्ता स्थानहरु निजी क्षेत्रले निर्माण गरिदिने होइन, निजी क्षेत्रले त त्यो ठाउँहरुको त्यो एक्स्पो ग्राउण्डको उपयोग गर्न सक्छ । हामीले त एक्जिबिटरको हिसाबले हामी आफ्ना आफूले उत्पादन गरेका वस्तुहरु या व्यवसायिकहरुले आफ्ना उत्पादनहरु त्यहाँ राख्न सोकेस गर्ने हो । त्यसलाई विभिन्न रुपमा त्यस्ता एक्जिबिसन सेन्टरहरुलाई विभिन्न रुपले प्रयोग गर्न सकिन्छ । वास्तवमा यो सबै संरचना निर्माण गर्ने पहिलो दायित्व सरकारको हो । सरकारले आर्थिक गतिविधिलाई कसरी बढाइदिने हो भन्ने सोच सरकारमा हुनुपर्छ । प्रथम दायित्व सरकारको हो । हामी पक्कै पनि सहयोग गर्न एकदम लागि परेका छौँ ।
सरकारले प्रदर्शनी स्थल निर्माणमा किन चासो नदिएको हो ?
हामी त निरन्तर लागिरहेका छौं । एक दशक भन्दा बढी भइसकेको छ हामी निरन्तर पहल गरिरहेका छौँ । तर, नष्कर्षमा पुगेका छैनौं । एउटा उचित ठाउँ पनि हुनुपर्यो । सहरको बीचमा यस्ता एक्जिबिसन सेन्टरहरु बनाउँदा ठाउँ अभाव होला । हामीले दीर्घकालीन हिसाबले सोचेर बनाउनुपर्छ जहाँ राम्रो पार्किङको व्यवस्था होस् । कमसेकम २५ वर्ष ३० वर्ष सम्म चल्ने हिसाबको संरचना बनाउन सकिन्छ । त्यसका लागि कमसेकम ४ देखि ५ बिघा जग्गा चाहिन्छ । जग्गा उपलब्ध गराइदिने पहिलो दायित्व महानगरपालिकाको हो । अब जबसम्म जग्गाको उपलब्धि भए बनाउन सकिन्थ्यो । हामी त समस्या भोगी नै रहेका छौँ । संघसंस्थाहरुबाट हरेक वर्ष एक्स्पोहरु भइरहेका छन् । हामीले अहिलेसम्म कुनै न कुनै ठाउँ अरुसँग नै मागेर काम अगाडि बढाइरहेका छौँ ।
अस्थायी संरचनाहरु प्रयोग गरेर मेला लाउनुपर्दा जटिलता र झन्झट कतिको हुन्छ ?
धेरै अप्ठ्याराहरु आउँछन् । हामीले कुनै पनि यस्ता ठाउँहरु हेर्दाखेरि त्यो ग्राउण्ड लेभल देखि नै प्रिपरेसनहरु गर्न सुरु गर्नुपर्छ । जग्गा मिलाउनुपर्छ, चारैतिर फेन्सिङ बाउण्ड्रीहरु लाउनुपर्छ त्यसपछि हामीले अस्थायी डोमहरु लाउनुपर्छ स्टलहरुको लागि । एउटा स्थायी ठाउँ भइदिए के हुन्छ भने यो सबै पक्की या कङ्क्रिट स्ट्रक्चरहरु बनाउन सकिन्छ पर्मानेन्ट स्ट्रक्चरहरु बनाउन सकिन्छ । यसले खर्चको बचत हुन्छ । समयको पनि बचत हुन्छ । इन्भेस्टमेन्टका लागि सरकारले राम्रो रणनीति बनायो भने गरेको इन्भेस्टमेन्टबाट पनि केही न केही आय त पक्कै पनि निकाल्न सकिन्छ । यसका लागि सरकार र महानगरपालिकाले अलि बढी पहल गरेर अगाडि बढ्नुपर्छ सदैव उहाँहरुको साथ र सहयोगमा हामी तयार रहनेछौं ।



















