
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सङ्घीय संसदीय दलको बैठकमा सरकारको पछिल्लो ६ महिनाको समीक्षा गर्दै प्रचण्डले प्रधानमन्त्री शाह संसद्प्रति जबाफदेही नदेखिएको र सरकारको कामकारबाही पारदर्शी नभएको बताएका हुन्।
नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्ने क्रममा प्रचण्डले सरकारको कार्यशैलीबारे बैठकमा धारणा राखेका थिए। ‘वर्तमान सरकार ठिक ढङ्गले अगाडि गएको छैन भन्नुभयो। ६ महिनामा सरकारले गरेका कामकारबाहीबारे समीक्षा गर्नुभयो। बालेनजी संसद्प्रति जबाफदेही हुनुहुन्न, पारदर्शी ढङ्गले पनि काम भइरहेको छैन, यसको रहस्य के होला भन्नुभएको थियो,’ दुलालले भने।
बैठकमा संसद्को प्रभावकारिता, जनसरोकारका विषयमा पार्टीको भूमिका, कानुन निर्माणमा संसदीय समितिको भूमिका तथा आगामी दिनमा संसदमा खेल्नुपर्ने भूमिकाबारे पनि छलफल भएको थियो।
बैठकले प्राकृतिक विपत्तिमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि पार्टीका तर्फबाट प्रभावकारी पहल गर्ने निर्णय गरेको छ। संसद् अधिवेशन अन्त्य भएसँगै सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन प्रचण्डले निर्देशन दिएका छन्।

























