‘द ब्लू लाइट’ माघ १६ देखि देशभर प्रदर्शन हुँदै

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १३, मंगलबार १०:०६

काठमाडौं । चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। बलिराम चौहानको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ।

निर्देशक चौहानले यो चलचित्र केवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराइमा अनुभूत गर्ने एउटा विशेष सिनेमा भएको बताए। चलचित्रले मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको छ। ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई ‘हरर’ विधाको फिल्म अनुमान गरे पनि निर्देशकले यो एक ‘मनोवैज्ञानिक ड्रामा–थ्रिलर’ भएको स्पष्ट पारे।

चलचित्रमा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन्। यस्तै आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको पनि अभिनय छ। स्थापित कलाकारहरूको ठूलो जमघट रहे पनि सबैले आफ्नो चरित्रमा नयाँपन पाएको चौहानले दाबी गरे। ‘हामीले प्रेम, धोका र बदलाकै विषयलाई नयाँ शैलीमा देखाउन खोजेका छौँ, जसले दर्शकलाई नयाँ अनुभव दिनेछ,’ उनले भने।

नेपाली चलचित्र क्षेत्रमा लामो यात्राको योजनासहित आएको बताउने निर्देशक चौहानले रातारात हिट हुने भन्दा पनि फरक गन्तव्य तय गर्ने लक्ष्य राखेका छन्। चलचित्रमा बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा पनि देखिएका छन्।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यस चलचित्रका कार्यकारी निर्माता नरेन्द्र मैनाली र बेनिशा हमाल हुन्। नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक र रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×