
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ ठकठककियाको जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।
नोबेल मेडिकल कलेजका सञ्चालक तथा निवर्तमान सांसद डा. सुनिल शर्माले विद्यालयमा नयाँ २ तले आधुनिक पक्की भवन बनाइ दिने भएका हुन् । स्वर्गीय नरेन्द्रबहादुर थापाले २०२२ सालमा सो विद्यालय स्थापना गरेका थिए ।
संघीय शिक्षा नियमावली तथा स्थानीय शिक्षा नियमावली अनुसार २ करोड बराबरको जिन्सी तथा नगद विद्यालयको खातामा जम्मा गर्ने व्यक्तिले विद्यालयको नाम परिवर्तन गर्न सक्ने प्रावधान अनुसार डा. शर्माले सो विद्यालयको साबिकको नाम परिवर्तन गर्दै आफ्ना बुवाआमाको नाम थपेका हुनु ।
डा. शर्माका बुवा लोकनाथ र आमा होमादेवी न्यौपानेको नाम थपिएर शुक्रबार (आज) देखि विद्यालयको नाम जनता लोकनाथ होमादेवी मावि भएको घोषणा पनि गरिएको छ । विद्यालयको नाम अनावरणपछि विद्यालय परिसरमा निर्माण गरिने भवनको शिलान्याससमेत गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि स्वर्गीय नरेन्द्रबहादुर थापाकी श्रीमती मैयाँदेवी थापा, लोकनाथ / होमादेवी न्यौपाने, डा. शर्माले अनावरण तथा भवनको शिलान्यास गरे । सो अवसरमा विद्यालयका प्रधानाध्यापक ईश्वर खनाल, रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर सिहं गागाईंलगायतको उपस्थिति रहेको थियो ।
५–५ कोठाको २ तले भवनको सोही विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका डा. शर्माले २ करोड बराबरको लागतमा भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्ने विद्यालयका प्रधानाध्यापक ईश्वर खनालले जानकारी दिए । उनका अनुसार १ वर्षभित्र भवन निर्माण पूरा गरी विद्यालयलाई हस्तान्तरण गर्ने छन् । पुस १३ गते विद्यालय नाम परिवर्तनको सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो ।
सो अवसरमा बोल्दै डा. शर्माले विद्यालयका संस्थापक थापा परिवारले पुर्याएको योगदानको चर्चा गरे । उनले विद्यालयको नाम परिवर्तन गर्दा थापा परिवारको योगदान नमेटिने गरी अघि बढ्ने बताए ।
विद्यालयको नयाँ भवन बनाउन २ करोड लाग्ने अनुमान गरेर काम अघि बढाए पनि हाल ३ करोडभन्दा बढी लाग्ने सक्ने बताउँदै, उनले भने, ‘भवन सम्पन्न गर्दा जति खर्च लागे पनि भवन तयार पूरा गरेर मात्रै हस्तान्तरण गर्ने छु ।’
डा. शर्माले थापा परिवारको योगदानको कदर गर्दै संस्थापक स्वर्गीय नरेन्द्रबहादुर थापाको नाममा ५० लाख र हजुरबुवा र हजुरआमाको नाममा २५–२५ लाख गरी १ करोड रुपैयाँ राशिको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरे ।

सो अवसरमा विद्यालयका विद्यार्थी, शिक्षक शिक्षकलाई विराटनगरको नोबेल अस्पतालमा उपचार गर्दा विशेष सहुलियत दिने समेत उनले बताए ।
सो विद्यालयमा अहिले शिशु कक्षा देखि १० सम्म पठन पाठन हुँदै आएको छ । विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।



















