
विराटनगर । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा स्थानीय बर्णबहादुर राईको छोराको विवाह भोज खाएका निम्तालुहरू सामूहिक रूपमा बिरामी परेका छन्। माघ २१ गतेको भोज खाएका बेहुला–बेहुलीसहित १५० जनाभन्दा बढीमा ‘फुड पोइजनिङ’ को गम्भीर समस्या देखिएको हो।
भोज खाएको करिब १२ घण्टापछि अर्थात् २२ गते बेलुकादेखि निम्तालुहरूमा ज्वरो आउने, शरीर काप्ने र झाडापखाला लाग्ने लक्षण देखिएको थियो। बिरामीको चाप अत्यधिक बढेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङस्थित दिलबहादुर राईको घरमा अस्थायी स्वास्थ्य शिविर खडा गरी उपचार गरिरहेको छ। गाउँपालिका अध्यक्ष अरुणादेवी राईले आज मात्रै ४५ जना नयाँ बिरामी थपिएको र निको भएर घर फर्केकाहरू समेत दोहोरिएर उपचारका लागि आएको बताइन्।
बिहेमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ। भोजमा प्रयोग गरिएको खाद्यवस्तु वा पानीका कारण यो समस्या आएको हुन सक्ने प्रारम्भिक अनुमान छ। बिरामीहरूलाई राखेर उपचार गर्न घरका कोठा, आँगन र पेटीमा ओछ्यान लगाइएको छ भने थप ठाउँका लागि पाल टाँगिएको छ। गम्भीर अवस्थाका ७ जनालाई भने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पठाइएको छ।
स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बिरामी पर्नुको वास्तविक कारण पत्ता लगाउन प्रदेशबाट विज्ञ टोली मगाएर ‘स्याम्पल’ सङ्कलन गर्ने तयारी भइरहेको बताए। गाउँपालिका उपाध्यक्ष खेम खड्काले अहिले अवस्था नियन्त्रणउन्मुख रहेको र बिरामीको उपचारमा कुनै कमी हुन नदिने बताए।



















