
विराटनगर । मोरङ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध लक्षित एचपीभी खोप अभियान आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
स्वास्थ्य कार्यालय मोरङका अनुसार कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बालिकालाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको हो । ३ देखि ५ दिनसम्म चल्ने यस अभियानका लागि जिल्लाभर ८ सय २७ वटा खोप केन्द्र तोकिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार खोप अभियानलाई व्यवस्थित र पहुँचयोग्य बनाउन विद्यालय, स्वास्थ्य संस्था तथा समुदायमा आधारित केन्द्रमार्फत सेवा दिइँदैछ । विद्यालय बाहिर रहेका बालिका पनि नछुटुन् भन्ने उद्देश्यले स्थानीय तह, महिला स्वास्थ्य स्वयंसेविका र समुदायका अगुवासँग समन्वय गरेर नामावली संकलन गरिएको स्वास्थ्य कार्यालयको भनाइ छ ।
यसैक्रममा विराटनगर महानगरपालिकाले पनि महानगरभित्रका १९ वटै वडामा एचपीभी खोप अभियान सुरु गरेको छ । महानगरभित्र रहेका २ हजार ९ सय ६४ बालिकालाई खोप लगाउने लक्ष्य लिइएको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।
स्वास्थ्य महाशाखा संयोजक प्रमुख दिलिप यादवका अनुसार खोप अभियानलाई नियमित स्वास्थ्य कार्यक्रमका रूपमा नभएर हजारौँ बालिकाको भविष्य सुरक्षित गर्ने दीर्घकालीन लगानीका रूपमा हेरिनुपर्छ । संयोजक यादवले अभिभावक र समुदायलाई ढुक्क भएर आफ्ना छोरीलाई खोप लगाउन आग्रह गर्दै एचपीभी खोप सुरक्षित, प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित भइसकेको बताए ।
खोप अभियानमा सहभागी हुन कुनै हिचकिचाहट आवश्यक नभएको उनको भनाइ छ । उनका अनुसार यो खोपले भविष्यमा हुने गम्भीर रोगको जोखिम घटाउने भएकाले यसको महत्व अझ बढी छ ।
यता खोपले प्रजनन क्षमता कमजोर बनाउँछ वा दीर्घकालीन स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने हल्ला पूर्ण रूपमा निराधार भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले स्पष्ट पारे । उनले एचपीभी खोप विश्व स्वास्थ्य संगठनसहित अन्तर्राष्ट्रिय स्वास्थ्य निकायबाट प्रमाणित भइसकेको भन्दै गलत सूचनाका कारण खोपबाट कोही पनि वञ्चित हुन नहुने बताए ।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर रोगमध्ये एक रहेको छ । उपलब्ध तथ्यांकअनुसार हरेक वर्ष १ हजारभन्दा बढी महिलाले यही क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन् ।
समयमै एचपीभी खोप लगाउन सकेमा भविष्यमा यो रोगको जोखिम उल्लेख्य रूपमा घटाउन सकिने स्वास्थ्य विज्ञहरूको भनाइ छ । यसैबीच सरकारले आगामी वर्षदेखि एचपीभी खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने तयारी अघि बढाइसकेको छ ।
नियमित खोप कार्यक्रममै समावेश भएपछि खोपको पहुँच अझ विस्तार हुने र पाठेघरको मुखको क्यान्सर नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार अहिले सञ्चालनमा रहेको अभियान सफल रूपमा सम्पन्न गर्न सके मोरङ जिल्लामा मात्र नभएर समग्र कोशी प्रदेश र देशमै महिला स्वास्थ्य सुरक्षामा दीर्घकालीन सकारात्मक प्रभाव पर्नेछ ।



















