इटहरीकी ‘कस्तुरी लेडी’ : आगजनीको आरोप बोकेर प्रतिनिधिसभाको उम्मेदवार

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ फाल्गुन २, शनिबार ०७:२८

इटहरी । गत भदौ २३ र २४ गते देशभर फैलिएको ‘जेनजी आन्दोलन’को रापले पूर्वी नेपालको प्रमुख केन्द्र इटहरी नछुने कुरै थिएन । इटहरीको आन्दोलनले ठूलै हलचल ल्यायो ।

आन्दोलनको दोस्रो दिन भदौ २४ गते इटहरीमा रहेका केही सरकारी संरचनामा आगजनी र तोडफोड भयो । जेनजी आन्दोलनको आवरणमा अराजक समूहले आगो लगाएर सरकारी संरचना ध्वस्त बनायो । यही घटनाको अग्रपंक्तिमा देखिएकी इटहरी उपमहानगरपालिका–२ पिपलचोक निवासी ताजिना विष्ट (कस्तुरी लेडी) अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएकी छन् ।

Advertisement

आन्दोलनको नेतृत्व गरेको आरोप खेपिरहेकी विष्टले भने कुनै पनि सरकारी संरचना जलाउने कार्यमा आफ्नो संलग्नता नरहेको दाबी दोहोर्‍याउँदै आएकी छन् । तर, सामाजिक सञ्जालमा भाइरल भएका भिडियो, तस्बिर र अभिव्यक्तिहरूले उनको राजनीतिक यात्रालाई सुरुदेखि नै विवादको घेरामा राखेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट ‘आँखा’ चुनाव चिन्ह लिएर सुनसरी–२ बाट उम्मेदवारी दिएकी विष्टले परम्परागत चुनावी खर्चको ढाँचालाई चुनौती दिने भन्दै ‘१ रुपैयाँ चुनाव खर्च सहयोग अभियान’ सुरु गरेकी छन् । उनले आफ्नो फेसबुकमार्फत ग्लोबल आइएमई बैंकको क्यूआर कोड सार्वजनिक गर्दै समर्थकहरूसँग न्यूनतम १ रुपैयाँ सहयोगको अपिल गरिरहेकी हुन् ।

सानो–सानो सहयोगबाट ठूलो राजनीतिक परिवर्तन सम्भव हुने सन्देश दिँदै उनले पारदर्शी ढंगले चुनाव लड्ने दाबी गरेकी छन् । सुनसरी–२ बाट उम्मेदवारी दिएपछि उनले विभिन्न अन्तर्वार्तामा आफूलाई ‘जनताको आवाज बलियो बनाउन’ संसदमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउँदै आएकी छन् ।

आफूलाई नजिताए देश संकटमा पर्ने र देशलाई निकास दिन नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको उनको तर्क छ । पुराना राजनीतिक दलहरूले देशलाई निकास दिन नसकेको आरोप लगाउँदै उनले आफ्नो उम्मेदवारीलाई विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेकी छन् ।

जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इलाका प्रहरी कार्यालय, राजस्व अनुसन्धान कार्यालय र यातायात कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो । त्यही बेला राजस्व अनुसन्धान प्रमुखको कुर्सीअघि बसेर ‘२०८४ मा म नै नगर प्रमुख बन्छु’ भन्ने अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि विष्ट एकाएक चर्चामा आएकी थिइन् ।

राजस्व अनुसन्धान कार्यालयको कुर्सीमा बसेर दिएको उक्त अभिव्यक्ति अझै पनि सामाजिक सञ्जालमा घुमिरहेको छ । आलोचकहरूले सरकारी सम्पत्तिमाथि आक्रमण र आगजनी भइरहेका बेला त्यही स्थानमा बसेर दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र अराजक भन्दै प्रश्न उठाइरहेका छन् । तर, विष्टले भने घटनालाई अतिरञ्जित गरिएको दाबी गर्दै आएकी छन् ।

उनका अनुसार जेनजी आन्दोलनमा उनी एक्लै नेपालको झन्डा बोकेर सहभागी भएकी थिइन् । आफू इटहरी चोक पुग्दा आगजनी भइरहेको र प्रहरीले केही युवाहरूलाई पक्राउ गरेपछि उनीहरूलाई छुटाउन दबाब दिन खोजेको उनको दाबी छ । अश्रुग्यास प्रहार भएपछि पछि हटेको र त्यसपछि राजस्व कार्यालय पुग्दा त्यहाँ आगो लागेको देखेको उनले बताएकी छन् ।

‘कुर्सी जलाउन खोजिएको थियो । मैले रोकेँ। २०८४ मा यही कुर्सीमा म बस्छु भनेर भनेकी हुँ । सरकारी संरचना जलाउने कार्यमा मेरो कुनै संलग्नता छैन । यदि प्रमाण हुन्थ्यो भने प्रहरीले कारबाही गर्ने थियो,’ उनले भनिन् । तर, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र तस्बिरका आधारमा उनको भूमिकामाथि प्रश्न उठाउनेहरूको संख्या कम छैन ।

सरकारी संरचना जलाउने घटनामा अग्रभागमा देखिएको व्यक्तिले अहिले सांसद बन्न खोजेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ । पृष्ठभूमि हेर्दा विष्ट एकाएक राजनीतिमा आएकी पात्र होइनन् ।

२०७९ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको चुनावी अभियानमा सक्रिय थिइन् । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई जिताउन खुलेरै लागेकी उनी पछि सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमार्फत मेयर पौडेलको कडा आलोचक बन्न पुगिन् ।

विकास नगरेको आरोप लगाउँदै भिडियो सामग्री पोस्ट गरेपछि उनलाई गत साउनमा प्रहरीले नियन्त्रणमा लिएको थियो । कसैको चरित्रहत्या हुने सामग्री पोस्ट नगर्ने सर्तमा उनी रिहा भएकी थिइन् ।

स्थानीयका अनुसार सामाजिक सञ्जालबाट चर्चा कमाएपछि विष्टले आफूलाई सामाजिक अभियन्ताका रूपमा प्रस्तुत गर्न थालेकी हुन् । इटहरी–२ स्थित हलगडामा ‘कस्तुरी सपिङ स्टोर’ सञ्चालन गर्दै आएकी उनी व्यवसायसँगै राजनीतितर्फ पनि मोडिएकी छन् । कपडा पसल चलाउँदै आएकी विष्ट पछिल्लो समय पूर्ण रूपमा राजनीतिक गतिविधिमा सक्रिय देखिन्छिन् ।

सुनसरी–२ मा प्रतिनिधिसभा सदस्यका लागि उनीसहित २८ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रअन्तर्गत इटहरी उपमहानगरपालिकामा ७५ हजार ४ सय ११, रामधुनी नगरपालिकामा २७ हजार ४ सय २२, इनरुवा नगरपालिकामा २८ हजार ९ सय ६३, हरिनगर गाउँपालिकामा २ हजार ८ सय ९३ र देवानगन्ज गाउँपालिकामा २४ हजार १ सय ९१ मतदाता रहेका छन् । कुल १ लाख ५८ हजार ८ सय ८० मतदाता रहेको यो क्षेत्र उम्मेदवारहरुका लागि प्रतिस्पर्धात्मक मानिएको छ ।

विष्टका अनुसार अहिले घरदैलो कार्यक्रम र मतदाता भेटघाट तीव्र रूपमा चलिरहेको छ । फागुन ४ गतेपछि प्रचार अभियानलाई थप सशक्त बनाइने उनले बताएकी छन् । ‘जेनजी आन्दोलनमा एक्लै हिँडेकी हुँ । नेपालको झन्डा बोकेर आन्दोलनमा थिएँ । आगजनीमा मेरो संलग्नता छैन । प्रमाण भए कारबाही हुन्थ्यो,’ उनले भनिन् ।

आन्दोलनका नाममा आगजनीको नेतृत्व गरेको आरोप र त्यसको पृष्ठभूमिबाट आएको छविसँगै संसदमा पुगेर देश बनाउने दाबी गर्दै उनी चुनावी मैदानमा उत्रिएकी हुन् । समर्थकहरूले उनलाई नयाँ पुस्ताको निर्भीक आवाजका रूपमा चित्रित गरिरहेका छन् भने आलोचकहरू उनलाई अराजक आन्दोलनबाट राजनीतिक लाभ लिन खोज्ने पात्रका रूपमा व्याख्या गरिरहेका छन् ।

सुनसरी–२ को चुनावी मैदान यसपटक परम्परागत दलका उम्मेदवारहरू मात्र नभई विवादित छविका स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूको उपस्थितिका कारण थप रोचक बनेको छ । ‘कस्तुरी लेडी’को उम्मेदवारीले आन्दोलन र अराजकता बीचको सीमारेखा कहाँ छ ? भनेर स्थानीय राजनीतिमा नयाँ बहस जन्माएको छ ।

आरोप र प्रमाणबीचको दूरी कति छ ? र विवादित पृष्ठभूमि बोकेको पात्रलाई मतदाताले संसदमा पठाउने कि नपठाउने ? भन्ने प्रश्न पनि उठेको छ । यी प्रश्नहरूको उत्तर अब आगामी फागुन २१ गते मतपेटिकाबाट आउने परिणामले दिनेछ । सुनसरी–२ का मतदाताले ‘कस्तुरी लेडी’लाई विकल्पका रूपमा स्वीकार कि अस्वीकार गर्छन् भन्ने कुराले उनको राजनीतिक भविष्यको दिशा तय गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.