
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले राष्ट्रिय समाचार समिति (रासस)ले अब परम्परागत समाचार उत्पादन शैलीमा सीमित नबसि समयानुकूल, सुदृढ र प्रविधिमैत्री ढंगले सामग्री तयार गर्नुपर्ने बताएका छन् ।
विश्वव्यापी सञ्चार प्रतिस्पर्धाको युगमा सरकारी समाचार संस्थाले विश्वसनीयता, तीव्रता र प्राविधिक दक्षतालाई सँगसँगै अघि बढाउन नसके पछि पर्न सक्ने उनले बताए । रासस कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आयोजित राससको ६५ औँ वार्षिकोत्सव तथा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले सत्य र तथ्यमा आधारित सूचनालाई आधुनिक प्रविधिको सहायताले छिटो, भरपर्दो र प्रभावकारी रूपमा आम जनतासम्म पुर्याउनु अहिलेको मुख्य आवश्यकता भएको बताए ।
उनले समाचार संस्थाले आफूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उभ्याउन गुणस्तरीय सामग्रीसँगै प्रविधिगत सक्षमता पनि विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा ‘बासु रिमाल यात्री’ स्मृति पुरस्कार रासस विराटनगरकी कार्यालय सहयोगी गौरी कारञ्जीतलाई प्रदान गरिएको थियो । उनलाई नगद सात हजार सात सय ७५ रूपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
पुरस्कार वितरणपछि बोल्दै मन्त्री पराजुलीले संस्थागत रूपमा राससले विश्वासिलाई आफ्नो पहिचान बनाउनुपर्ने र जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर लागिरहनुपर्नेमा जोड दिए । उनले समाचारलाई सूचना मात्रै नभएर सार्वजनिक चेतना निर्माण गर्ने साधनका रूपमा लिनुपर्ने धारणा राखे ।
उनले आसन्न निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता आवश्यक रहेको बताए । निर्वाचनका क्रममा निष्पक्ष, सन्तुलित र तथ्यपरक समाचार सम्प्रेषणमा राससको भूमिका अझ महत्वपूर्ण हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले विगतको तुलनामा राससले आफ्ना समाचार सामग्रीमा सुधार गरेको उल्लेख गर्दै निजी क्षेत्रका सञ्चार संस्थाको आवश्यकता र मागअनुसार सामग्री उत्पादन गर्न आग्रह गरे । उनले डिजिटल माध्यम, मल्टिमिडिया सामग्री र विषयगत विश्लेषणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले राससले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक प्रदेशबाट कम्तीमा एक÷एक जना समाचारदातालाई सम्मान गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले जिल्लास्तरमा कार्यरत समाचारदाताको पारिश्रमिक वृद्धि गर्नुपर्ने बताए । उनका अनुसार स्थानीय तहबाट समाचार संकलन गर्ने जनशक्तिको मनोबल उच्च नभएसम्म संस्थाको समग्र गुणस्तरमा अपेक्षित सुधार आउन सक्दैन ।
रासस प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुलले संस्थाले २४ घण्टा सेवा सञ्चालन गर्दै आएको जानकारी गराए । उनले नेपालीसहित विभिन्न राष्ट्र भाषामा समाचार सेवा प्रदान गरिनुका साथै अडियो, भिडियो सामग्री र परीक्षणका रूपमा पोडकास्ट उत्पादनसमेत सुरु गरिएको बताए । यसले राससलाई परम्परागत सेवाबाट मल्टिमिडिया प्लेटफर्मतर्फ रूपान्तरण गर्ने प्रयासलाई बल पुर्याएको उनले उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले पनि राससले आफ्नो सेवालाई समयानुकूल परिमार्जन गर्दै लैजानु सकारात्मक भएको बताइन् । उनले पत्रकारिता क्षेत्रमा विश्वसनीयता जोगाइराख्नु सबैभन्दा ठूलो चुनौती भएको भन्दै तथ्य पुष्टि र स्रोतको विश्वसनीयतालाई प्राथमिकता दिन आग्रह गरिन् ।
कार्यक्रममा सरकारी समाचार संस्थाको रूपमा स्थापित राससले डिजिटल युगको मागअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने आवाज उठेको थियो । विश्वसनीयता, प्रविधि र प्रतिस्पर्धात्मक क्षमताका आधारमा आफूलाई सुदृढ बनाउँदै लगेमा मात्र राससले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार बजारमा सशक्त उपस्थिति जनाउन साझा धारणा सार्वजनिक भएको छ ।























