
विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । एल केजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले तयार गरेको आ–आफ्नो प्रदर्शनी गरेका हुन् ।
वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुलाई व्यवहारिक रूपमा विभिन्न परियोजनामार्फत विद्यार्थीले सक्षमता प्रस्तुत गरेका हुन् । विभिन्न विषयका परियोजना अभिभावकलाई अवलोकन गराउँदै विद्यार्थीले आफ्ना परियोजनाहरूको विषयमा जानकारी गराए ।
क्रियाकलापमा आधारित सिकाइ पद्धति अवलम्बन गर्दै आएको एभरेस्टले विद्यार्थीलाई हरेक विषयमा ६–६ वटा परियोजना बनाउन लगाएको थियो । स्कुलका भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार गणित, नेपाली, सामाजिक शिक्षा, विज्ञान, अंग्रेजी, कम्प्युटर, कला तथा कारखाना विज्ञानका विषयका पाठ्यक्रममा आधारित विषयवस्तुलाई विद्यार्थीले विभिन्न प्रोजेक्ट बनाएका हुन् ।
विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीले साँच्चै सिकेको छ कि छैन भन्ने बुझ्नका लागि पनि प्रदर्शनी प्रभावकारी भएको बताए । उनले विद्यार्थीका हरेक परियोजना र त्यसको विषयमा विद्यार्थीले गर्ने व्याख्या सुनको र विद्यार्थीले सक्षमता प्रस्तुत गरेको बताए ।
प्रिन्सिपल पुरीले क्रियाकलापमा आधारित अध्यापन भने कै यही हो भन्दै उनले यसले विद्यार्थीमा हौसला थपिने, आत्मविश्वास बढ्ने, सामूहिक क्रियाकलाप गर्न प्रेरित गर्ने मात्र नभई तार्किक समेत बनाउने प्रस्ट्याए ।
कक्षा ७ की आरोही रायले यो प्रदर्शनीले नयाँ नयाँ कुरा सिकाएको बताइन् । अझ परियोजना अभिभावकलाई बुझाउँदा सञ्चार गर्ने कलासमेत अभिवृद्धि भएको छ । त्यस्तै, अर्की छात्रा अविशा भण्डारीले हरेक वर्ष एभरेस्टले गर्ने शैक्षिक प्रदर्शनीले नयाँ नयाँ कुरा सिक्ने अवसर प्रदान गरेको बताइन् ।

























