
काठमाडौं । हरेक नेपालीले सम्मानित भएर बाँच्न पाउने गरी देश निर्माण नै कांग्रेसको मुख्य भिजन भएको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बताएका छन् । मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने बनाउनेछौँ । प्रत्येक नेपालीले सपना देख्न पाउने र आफ्नो जीवनकालमा साकार हुनसक्ने बनाउनेछौँ ,’ उनले भने,‘ नेपाललाई पेटभरि खुवाउने र आफ्नो उत्पादनलाई संसारभरी चिनाउनसक्ने किसानको नेपालमा बनाउनेछौँ,’
उनले नेपालका छोराछोरीलाई पढाउँदै गर्दा ऋण काढ्नुनपर्ने अवस्थाको अन्त्य गर्ने पनि बताए । उपचार गर्दा डराउन नपर्ने नेपाल निर्माण गर्ने उनले बताए ।
मौलिकतामा गौरव गर्ने नेपाल बनाउने बताउँदै उनले भने,‘‘सँगसँगै आधुनिकतामा लम्किने नेपाल बनाउनेछौँ । यो नेपाललाई विश्वले स्वाभिमानी देश भनेर चिन्ने देश बनाउनेछौँ, यो हाम्रो संकल्प हो, प्रतिज्ञा हो ।’
























