विराटनगर–५ मा एमालेको प्रचार तीव्र, जानकी चोकमा कार्यालय सञ्चालन

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १८:२२

विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)ले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर महानगरपालिका–५ मा चुनावी गतिविधि तीव्र पारेको छ ।

चुनावी अभियानलाई व्यवस्थित, प्रभावकारी र केन्द्रित बनाउन पार्टीले विराटनगर महानगरपालिका–५ को जानकी चोकमा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । बुधबार बिहान आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय उपाध्यक्ष गुरु बरालले कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यालय उद्घाटनसँगै पार्टीले चुनावी अभियानलाई थप आक्रामक र योजनाबद्ध रूपमा अघि बढाएको एमाले विराटनगर–५ का वडाध्यक्ष राजेश गिरीले बताए ।

गिरीले निर्वाचनलाई लक्षित गर्दै स्थायी सम्पर्क बिन्दुको आवश्यकता महसुस भएकाले कार्यालय स्थापना गरिएको जानकारी दिए । उनका अनुसार निर्वाचनको समयमा उम्मेदवार, कार्यकर्ता र मतदाताबीचको समन्वयलाई सहज बनाउने उद्देश्यले यो कार्यालय खोलिएको हो ।

‘चुनावको समयमा जनताको घरदैलोमा पुग्न, मतदातासँग प्रत्यक्ष भेटघाट गर्न र पार्टीका प्रतिबद्धता प्रभावकारी रूपमा प्रस्तुत गर्न एउटा केन्द्र चाहिन्थ्यो,’ गिरीले भने, ‘अब यही कार्यालयलाई आधार बनाएर घरदैलो अभियान, मतदाता संवाद र प्रचारप्रसारका कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’ उनले यसपटकको निर्वाचनलाई प्रतिष्ठाको विषयका रूपमा लिइएको उल्लेख गर्दै विजय सुनिश्चित नगरेसम्म विश्राम नलिने बताए ।

गिरीका अनुसार कार्यालयमार्फत जिम्मेवारी बाँडफाँट, दैनिक कार्यतालिका निर्धारण, प्रचार सामग्री व्यवस्थापन तथा अभियानको मूल्यांकन गर्न सहज हुने अपेक्षा गरिएको छ । ‘निर्वाचन परिचालन कार्यालय चुनाव प्रचार अभियानको नाडी हो,’ उनले भने, ‘यहाँबाट योजना बन्छ, कार्यान्वयन हुन्छ र समीक्षा पनि यहीँबाट हुन्छ ।’

एमालेको प्रचार अभियानमा केन्द्रीय तहका नेताहरू पनि सक्रिय रूपमा खटिएको गिरीले जानकारी दिए । उनका अनुसार गुरु बराल, पूर्वस्थायी कमिटी सदस्य लालबाबु पण्डित र केन्द्रीय सदस्य पर्शुराम बस्नेतलगायतका नेताहरू चुनावी गतिविधिमा प्रत्यक्ष संलग्न छन् । उनीहरूको उपस्थितिले कार्यकर्तामा उत्साह थपिएको स्थानीय नेताहरूको भनाइ छ ।

बुधबार मात्रै विराटनगर–५ का विभिन्न टोल तथा चोकहरूमा व्यापक घरदैलो अभियान सञ्चालन गरिएको एमालेले जनाएको छ । मुनालपथ, जानकी चोक, त्रिमूर्ति चोक, चाँदनी चोक, बरगाछी, पृथ्वी चोक, प्रतिमा मार्गलगायतका क्षेत्रमा नेता कार्यकर्ता मतदाताको घरदैलोमा पुगेका थिए ।

घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष संवाद, स्थानीय समस्याको सुनुवाइ तथा पार्टीका भावी योजना प्रस्तुत गरिएको बताइएको छ । निरन्तरता पाउने अभियानलाई आगामी दिनमा थप विस्तार गरिने अध्यक्ष गिरीले बताए ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको छ । ढकालका बुवा १०१ वर्षीय विष्णुप्रसाद ढकालको गत बिहीबार निधन भएपछि उनी यतिबेला पितृ शोकमा छन् ।

पारिवारिक संस्कारअनुसार किरिया बारेर कोरामा बसिरहेका ढकालको अनुपस्थितिमा पार्टीका नेता कार्यकर्ताले चुनावी अभियानलाई निरन्तरता दिइरहेका छन् । एमालेका केन्द्रीय सदस्य पर्शुराम बस्नेतका अनुसार उम्मेदवारको पारिवारिक शोकका बाबजुद संगठनात्मक तयारीमा कुनै कमी हुन दिइएको छैन ।

स्थानीय स्तरमा संगठन सुदृढीकरण, मतदाता परिचालन र प्रचार सामग्री वितरणलाई समन्वयात्मक रूपमा अघि बढाउने काम भइरहेको बस्नेतले बताए । कार्यकर्ताहरूलाई जिम्मेवारीअनुसार परिचालन गर्दै निर्वाचनको दिनसम्म निरन्तर सक्रिय रहने रणनीति तय गरिएको उनको भनाइ छ ।

विराटनगर–५ लाई मोरङ क्षेत्र नम्बर ६ अन्तर्गतको महत्वपूर्ण मतदान क्षेत्रका रूपमा हेरिएको छ । यस क्षेत्रमा हुने मतपरिणामले समग्र निर्वाचन परिणाममा प्रभाव पार्ने भएकाले एमालेले प्रारम्भिक चरणदेखि नै आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरेको देखिन्छ । कार्यालय स्थापना र घरदैलो अभियानको तीव्रताले एमालेले निर्वाचनलाई गम्भीरतापूर्वक लिएको संकेत गर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.