
बंगलादेश । बंगलादेशमा हालै सम्पन्न आम निर्वाचनमा भारी बहुमतका साथ विजयी भएको बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का अध्यक्ष तरिक रहमानले आगामी ११ फागुन (फेब्रुअरी २३) मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने भएका छन्। उनले सोही दिन आफ्नो सानो आकारको मन्त्रिपरिषद्का सदस्यहरूसँगै शपथ ग्रहण गर्ने तय भएको छ।
शपथ ग्रहण समारोहलाई भव्य बनाउन र यसको कुटनीतिक महत्त्वलाई झल्काउन छिमेकी मुलुक नेपालसहित भारत, चीन, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, साउदी अरेबिया, टर्की, संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया र ब्रुनाईका प्रतिनिधिहरूलाई निमन्त्रणा पठाइएको छ। विगतका समारोहहरू राष्ट्रपतिको सरकारी निवास बंगभवनस्थित दरबार हलमा हुने गरेको भए पनि यसपटक ठुलो संख्यामा पाहुनाहरू आमन्त्रित गरिएकाले जातीय संसद् भवनको दक्षिण प्लाजामा विशेष समारोहको आयोजना गरिँदैछ।
गत बिहीबार २ सय ९९ निर्वाचन क्षेत्रमा भएको मतदानको नतिजाअनुसार २ सय ९७ सिटको गणना हुँदा बीएनपीले एक्लै २ सय ९ सिट जितेर दुई–तिहाइ बहुमत प्राप्त गरेको छ। अदालतको आदेशका कारण दुई सिटको मतगणना रोकिएको छ भने एक सिटमा उम्मेदवारको निधन भएकाले निर्वाचन स्थगित भएको थियो। बंगलादेशको ३ सय ५० सदस्यीय संसद्मा ५० सिट महिलाका लागि आरक्षित छ, जसमा प्रत्यक्षतर्फ प्राप्त मतभारका आधारमा दलहरूले समानुपातिक प्रतिनिधित्व पाउनेछन्।

























