
धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी फागुन २१ गते पुराना राजनीतिक दलहरूको सटर पूर्ण रूपमा बन्द गरिदिने दाबी गरेका छन्। बुधबार धनगढीमा आयोजित ‘परिवर्तन उद्घोष’ सभालाई सम्बोधन गर्दै उनले जनतासँग झुटो बाचा गर्ने नेताहरूलाई अब दण्डित गर्ने समय आएको बताए। वर्षौँसम्म नेताले बाचा पूरा नगर्ने तर त्यसको सजाय जनताले भोग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको तर्क छ।
आफ्नो मन्तव्यका क्रममा लामिछानेले यसपटकको चुनावमा मत नबाँडी परिवर्तनको पक्षमा उभिन सुदूरपश्चिमका मतदातालाई आग्रह गरे। उनले सिंहदरबार जलाउने कुरा मात्र गरेर नहुने भन्दै यसपालि सिंहदरबारको कार्यशैली बदलेरै छाड्ने प्रतिबद्धता जनाए। पुराना दलहरूले विगत ३५ वर्षमा केही नगरेको आरोप लगाउँदै उनले अब देशको बागडोर नयाँ पुस्ताले सम्हाल्नुपर्नेमा जोड दिए।
सुदूरपश्चिममा व्याप्त शिक्षा, स्वास्थ्य र मेडिकल क्षेत्रका समस्याहरू समाधान गर्न रास्वपा तयार रहेको दाबी गर्दै उनले कसैको डर वा दबाबमा नपर्न समेत अपिल गरे। चुनावका बेला भोट चोर्न आउनेहरूबाट सचेत रहँदै आफ्नो निष्ठाको रक्षा गर्न र राष्ट्रिय परिवर्तनका लागि मतदान गर्न उनले आग्रह गरे।

























