
काठमाडौं । मुलुकमा देखिएका राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै शाहले निर्वाचन अघि राष्ट्रिय समस्याको समाधान गरिनु पर्ने बताएका हुन् ।
प्रजातन्त्रमा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वभाविक प्रक्रिया भएपनि वर्तमान परिस्थितिको गम्भीरतालाई बुझ्नु पर्ने उनकाे भनाइ छ ।
सन्देशमा उनले भनेका छन्, ‘यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुनेछ।’
निर्वाचनपछि मुलुकमा कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखी राष्ट्रिय सहमति र सबैलाई समेट्ने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा सही हुने उनले बताए ।

























