
धनकुटा । धनकुटामा पछिल्लो समय कुकुरको टोकाइका घटना बढ्दै जाँदा रेबिजविरुद्धको खोपको चरम अभाव देखिएको छ। जिल्ला अस्पताल धनकुटामा माघ महिनाका लागि आएको २०० डोज खोप सकिएपछि नयाँ बिरामीहरू खोप नपाएर समस्यामा परेका हुन्।
अस्पतालका सूचना अधिकारी यज्ञमणि खतिवडाका अनुसार दैनिक ८ देखि १० जनासम्म कुकुरले टोकेका बिरामीहरू खोपका लागि अस्पताल आउने गरेका छन्। पहिले नै खोप सुरु गरिसकेका बिरामीलाई कोर्स पूरा गराउन केही डोज जोगाएर राखिए पनि नयाँ बिरामीलाई भने खोप उपलब्ध गराउन नसकिएको खतिवडाले बताए।
सरकारी अस्पतालमा निःशुल्क पाइने खोप नभएपछि बिरामीहरू महँगो मूल्य तिरेर निजी मेडिकलबाट खोप किन्न बाध्य छन्। आइतबार उपचारका लागि अस्पताल पुगेका धनकुटा–७ का जसमणि राईले अस्पतालमा खोप नपाएपछि बाहिरबाट किन्नुपरेको गुनासो गरे।
कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमै खोपको मौज्दात सकिएकाले जिल्लामा आपूर्ति हुन नसकेको हो। केन्द्रका निमित्त निर्देशक डा. सुरेश मेहताका अनुसार संघीय सरकारबाट खोप नआएकाले यो समस्या देखिएको हो। अन्य प्रदेशले आफैँ खोप खरिद गरे पनि कोशी प्रदेशले हालसम्म खरिद प्रक्रिया अघि बढाएको छैन। हाल केन्द्रमा रहेको करिब २०० डोज खोप सम्भावित महामारीका लागि आकस्मिक रूपमा सुरक्षित राखिएको डा. मेहताले जानकारी दिए।
कुकुरको टोकाइ बढ्ने तर उपचारका लागि आवश्यक खोप नहुने अवस्थाले जिल्लाबासी त्रसित बनेका छन्। उनीहरूले तत्काल खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।



















