
विराटनगर । बिहीबारको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विराटनगरस्थित कोशी अस्पतालले सम्भावित स्वास्थ्य आपतकालको सामना गर्न विशेष तयारी गरेको छ ।
निर्वाचनका दिन हुन सक्ने भिडभाड, आकस्मिक दुर्घटना, स्वास्थ्य जटिलता वा अन्य अप्रत्याशित घटनालाई मध्यनजर गर्दै अस्पतालले विशेषज्ञ चिकित्सकसहितको ९ सदस्यीय ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरेको हो । अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा. रामनारायण चौधरीका अनुसार यस टोलीको संयोजक वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. यज्ञराज खरेल छन् ।
‘निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास हो । यस्तो संवेदनशील समयमा कुनै पनि स्वास्थ्य समस्या उत्पन्न भए तत्काल र प्रभावकारी सेवा दिनु अस्पतालको दायित्व हो,’ डा. चौधरीले भने, ‘त्यही जिम्मेवारीलाई मध्यनजर गर्दै हामीले अनुभवी चिकित्सक र कर्मचारीहरू सम्मिलित विशेष टोली तयार गरेका छौँ ।’ टोलीमा संयोजक डा. यज्ञराज खरेलसँगै डा. मञ्जु यादव, डा. रवि बास्ताकोटी, डा. नवीन सुवेदी, डा. दिवसराज भण्डारी, डा. शन्निकुमार सोनी, डा. पुरनचन साह तथा कर्मचारीहरु बद्री बस्नेत र अमित झा सदस्य छन् ।
विभिन्न विधामा अनुभव हासिल गरेका चिकित्सक र स्वास्थ्यकर्मीहरूले निर्वाचन अवधिभर अस्पतालमा आउने आकस्मिक बिरामीहरूको उपचारमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् । निर्वाचनका दिन मतदान केन्द्रहरूमा मतदाताको भिड बढ्ने, सुरक्षाकर्मी तथा कर्मचारीहरूको लामो ड्युटी हुने, उच्च रक्तचाप, मधुमेह, हृदयसम्बन्धी समस्या भएका नागरिकहरू लामो समय लाइनमा बस्नुपर्ने अवस्था आउन सक्ने भएकाले आकस्मिक स्वास्थ्य जोखिमको सम्भावना रहन्छ ।
यसबाहेक सडक दुर्घटना, झैझगडा, लडेर घाइते हुने जस्ता घटनासमेत हुनसक्ने अनुमान गरिएको छ । यस्ता सम्भावित अवस्थालाई समयमै सम्बोधन गर्न ‘र्यापिड रेस्पोन्स टिम’ २४ सै घण्टा तयारी अवस्थामा रहने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले आवश्यक औषधि, जीवनरक्षक उपकरण, अक्सिजन, आकस्मिक शल्यक्रिया कक्ष तथा इमर्जेन्सी बेडहरूको व्यवस्थापनसमेत सुदृढ बनाएको छ । आपतकालीन कक्षमा अतिरिक्त जनशक्ति परिचालन गरिएको र एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
डा. खरेलले निर्वाचन अवधिमा कुनै पनि स्वास्थ्य जटिलता देखिए ढिला नगरी अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन् । ‘सामान्य लक्षणलाई बेवास्ता नगर्नुहोस् । टाउको दुख्ने, छाती दुख्ने, अत्यधिक थकान, बेहोस हुने जस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्छ,’ उनले भने ।
अस्पताल प्रशासनका अनुसार निर्वाचन र त्यसपछि मतगणना सम्पन्न नभएसम्म टोली सक्रिय रहनेछ । आवश्यक परे मतदान केन्द्रहरू नजिकै रहेका स्वास्थ्य चौकी तथा निजी स्वास्थ्य संस्थासँग पनि समन्वय गर्ने योजना बनाइएको छ ।
लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण दिनमा स्वास्थ्य क्षेत्रले पनि आफ्नो तयारीलाई चुस्त बनाएको हो । कोशी अस्पतालको यो पहलले निर्वाचनका बेला हुनसक्ने स्वास्थ्य जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
लोकतन्त्रको पर्व सुरक्षित र व्यवस्थित ढंगले सम्पन्न गराउन स्वास्थ्य सेवा पनि सशक्त र सजग रहनुपर्ने सन्देश प्रवाह गर्न खोजिएको डा. चौधरीले बताए । उनका अनुसार यस्तो विषयमा सबै स्वास्थ्य संस्थाले आआफ्नो ठाउँबाट योगदान गर्दा राम्रो हुन्छ ।



















