प्रतीकात्मक तस्बिरझापा । झापाका विभिन्न तीन ठाउँमा आइतबार छुट्टाछुट्टै आगलागीका घटना हुँदा करिब साढे छ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । घटनामा कुनै मानवीय वा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
गौरीगञ्ज गाउँपालिका–६ भारुचोकमा आइतबार दिउँसो करिब १ः३० बजे स्थानीय तुलसी साहको जस्ता पाताले बनेको र टिनको छाना भएको एक कोठे घुम्ती किराना पसलमा आगलागी भएको छ । विद्युत् सर्ट भएर अचानक आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोली, निर्वाचन सुरक्षामा खटिएका प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोले किराना पसल तथा पसलभित्र रहेका विभिन्न किराना सामग्री जलेर नष्ट हुँदा करिब दुई लाख चार हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यसैगरी, भद्रपुर नगरपालिका–९ बुद्धटोलमा पनि आइतबार दिउँसो आगलागी भएको छ । स्थानीय मकरध्वज आङदेम्बेको जस्ताको छानो र बाँसको चित्राले बनेको एकतले भान्साघरमा चुलोबाट आगो सल्किएको छ ।
आगलागीबाट भान्साघरमा रहेका ग्यास सिलिण्डर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, एउटा साइकल तथा फर्निचरका सामान जलेर नष्ट भएका छन् । करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
यसैगरी, गौरादह नगरपालिका–७ सूर्योदय टोलमा गाई ग्वालीमा आइतबार बिहानका राति आगलागी भएको छ। स्थानीय पुष्पलाल चौलागाईंको टिनको छाना भएको दुई कोठे ग्वालीमा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ग्वाली पूर्ण रूपमा जलेको छ भने भित्र राखिएको करिब पाँच मन धान, ५० किलो चोकर, झ्यालढोका र विद्युत् मिटर बक्स जलेर नष्ट भएको छ । करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
























