
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका लागि ऐतिहासिक रूपमा प्रतिकूल नतिजा आएको छ । २१ फागुनमा सम्पन्न निर्वाचनमा प्रतिस्पर्धा गरेका पार्टीका सभापति गगनकुमार थापासहित सबै पदाधिकारीहरू पराजित भएका छन् । कांग्रेसले आफ्ना पदाधिकारीहरूलाई विभिन्न जिल्लामा उम्मेदवार बनाए पनि नयाँ गठन हुने प्रतिनिधि सभामा उनीहरूको उपस्थिति शून्य हुने भएको छ ।
प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सभापति थापा सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहसँग ११ हजारभन्दा बढी मतान्तरले पराजित भए । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत मात्र प्राप्त गरे । त्यस्तै, महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ मा रास्वपाका सम्मित पोखरेलसँग २१ हजारभन्दा बढी मतान्तरले पराजित भए भने अर्का महामन्त्री गुरुराज घिमिरे मोरङ–४ मा रास्वपाकै सन्तोष राजवंशीसँग २८ हजार मतान्तरले पछाडि परे ।
पार्टीका सहमहामन्त्रीहरूका लागि पनि यो निर्वाचन निकै घातक सावित भयो । सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा–३ मा, उदयशम्शेर राणा ललितपुर–१ मा, र योगेन्द्र चौधरी दाङ–१ मा रास्वपाका उम्मेदवारहरूसँग भारी मतान्तरले पराजित भए । सुदूरपश्चिमको बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेकपा एमालेका ऐनबहादुर महरसँग पराजित भए भने डोल्पामा सहमहामन्त्री कर्णबहादुर बुढा आफ्नै भाइ (नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार) धनबहादुर बुढासँग पराजित हुन पुगे ।
यस निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ जम्मा १७ सिटमा खुम्चिएको छ । कोशीमा ३, कर्णालीमा ५, सुदूरपश्चिममा ३, लुम्बिनी र गण्डकीमा २–२ तथा मधेश र बागमतीमा १–१ स्थानमा मात्रै कांग्रेसले जित निकालेको छ । पार्टीका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने यसपटक चुनावी प्रतिस्पर्धामा थिएनन् । पदाधिकारीहरूको यो क्लिन स्वीपले कांग्रेसभित्र गम्भीर समीक्षाको माग उठ्न थालेको छ ।
























