
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता डा. कमलेश्वर सिन्हामाथि साङ्घातिक आक्रमण भएको छ । आइतबार दिउँसो करिब १२:१० बजे छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसिरहेका अवस्थामा डा. सिन्हामाथि आक्रमण भएको हो ।
स्थानीय युवा नेता नवीन कुशवाहाका अनुसार आक्रमणमा सर्लाही क्षेत्र नं. ४ बाट नवनिर्वाचित रास्वपा सांसद अमरेशकुमार सिंहका भतिजा एवं राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र स्थानीय पंकजकुमार झा संलग्न रहेको आरोप लगाइएको छ । विजय जुलुस निस्किएको समयमा भएको उक्त आक्रमणबाट घाइते भएका डा. सिन्हालाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले यस घटनाप्रति घोर आपत्ति जनाउँदै ज्यान लिने उद्देश्यले आक्रमण गरिएको दाबी गरेको छ । कांग्रेसले दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । चुनावी नतिजा सार्वजनिक भएलगत्तै भएको यस हिंसात्मक घटनाले क्षेत्रमा तनाव बढाएको छ भने कांग्रेस कार्यकर्ताहरूले सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
























