
काठमाडौं। । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई थप मजबुत बनाएको छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म कुल ५० लाख १८ हजार ६१२ मत गणना भइसक्दा रास्वपाले २४ लाख ७२ हजार ९६१ मत प्राप्त गरेको छ ।
यो गणना भएको कुल मतको करिब ४९.२७ प्रतिशत हिस्सा हो, जसले नयाँ राजनीतिक शक्तिको पक्षमा देखिएको जनलहरलाई थप पुष्टि गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म ८ लाख ३६ हजार १७७ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ७ लाख १५ हजार २१७ मतसहित तेस्रो स्थानमा रहेको छ ।
अन्य दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीले ३ लाख ४० हजार ४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ८० हजार ५९१ मत ल्याउँदा नयाँ उदय भएको श्रम संस्कृति पार्टीले १ लाख २३ हजार २४१ मत प्राप्त गरेको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले ६१ हजार ३३१, राष्ट्रिय परिवर्तन पार्टीले ५४ हजार २२५, जनमत पार्टीले २७ हजार ६५७ र नेपाल मजदुर किसान पार्टीले २६ हजार ९८१ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेकाले अन्तिम नतिजासम्म दलहरूको मत संख्या र प्रतिशतमा केही फेरबदल हुन सक्ने भए पनि रास्वपाले कायम गरेको फराकिलो अन्तरले आगामी संसद्मा उसको उपस्थिति निर्णायक हुने देखिएको छ ।
























