
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद छान्न राजनीतिक दलहरूलाई ३ दिनको समय दिने तयारी गरेको छ। आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा सिट सङ्ख्या तय गरी बन्दसूचीबाट नाम सिफारिस गर्न पत्राचार गर्ने तयारी गरेको हो।
निर्वाचन आयोगले दलहरूले पाएको कुल सदर मतका आधारमा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने छ। सिट सङ्ख्या तय भएपछि सम्बन्धित दलहरूलाई यसअघि नै बुझाइएको बन्दसूचीबाट उम्मेदवारको नाम सिफारिस गर्न पत्र लेखिने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए।
उनका अनुसार सम्भव भएसम्म आजै बेलुकी वा भोलिसम्ममा दलहरूलाई पत्र लेखिने छ। २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले गत पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका थिए।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक प्रणालीबाट आउने व्यवस्था छ। प्रत्यक्षतर्फको सबै १६५ सिटको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको नतिजा पनि केही दिनभित्रै टुङ्गिने छ।
दलहरूले सिफारिस गरेका नामहरू समावेशिताको आधारमा मिले वा नमिलेको पुनः जाँच गरेपछि मात्र आयोगले ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ। आयोगले समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र दिएलगत्तै निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।
























