
विराटनगर । सुनसरीमा स्कोरपिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना युवती गम्भीर घाइते भएकी छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी गाउँपालिका–४ मा बुधबार अपरान्ह ४ः४५ बजेतिर दुर्घटना भएको हो । इनरुवाबाट भण्टाबारीतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको स्कोरपिओले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय सञ्जय साहको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याउनसाथ चिकिसत्कले साँझ ५ः२० बजेतिर मृत घोषित गरिदिएका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार राजविराज घर भएकी २५ वर्षीया पुष्पा साह गम्भीर घाइते भएकी छन् । उनको उपचार जारी छ ।
प्रहरीले स्कोरपिओ र चालक सप्तरीको बोदेबरसाइन नगरपालिका–६ का २५ वर्षीय रञ्जितकुमार चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । स्कोरपिओको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
























