
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा ‘स्वाइन फिभर’ का कारण बङ्गुरहरू धमाधम मर्न थालेका छन् । पछिल्लो एक साताको अन्तरालमा चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका किसान हरि गुरोका १४ वटा बङ्गुर यसै रोगका कारण मरेका हुन् ।
पशु चिकित्सक डा. सुलभ चौधरीका अनुसार चन्द्रपुरका विभिन्न स्थानमा स्वाइन फिभरको संक्रमण देखिएको छ । राजपेडाका हरि गुरोका बङ्गुर मात्र नभई चन्द्रनिगाहपुर–४ की शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगले मरेको पुष्टि भएको छ ।
लाखौँ लगानी गरेर बङ्गुर पालन गरिरहेका किसानहरू चिन्तित भएका छन् । एक साताको छोटो अवधिमै आफ्ना १४ वटा बङ्गुर मरेपछि ठुलो आर्थिक क्षति बेहोर्नु परेको छ । बिरामी हुने बित्तिकै चिकित्सकलाई खबर गरेँ, उपचार पनि गरियो, तर बचाउन सकिएन, गुरोले भने ।
डा. चौधरीका अनुसार यो रोग विशेषगरी रोगी बङ्गुर, त्यसका पाठा पाठी, मासु वा संक्रमित पशुको सम्पर्कमा आउने अन्य स्वस्थ पशुबाट सर्ने गर्दछ । यो निकै संक्रामक भएकाले एउटा फार्ममा देखिएपछि अन्यत्र फैलिने जोखिम उच्च रहन्छ ।
रोग नियन्त्रणका लागि सबै वडामा खोप अभियान चलाउने घोषणा गरे पनि हाल खोपको अभाव देखिएको छ । डा. चौधरीले खोप उपलब्ध नहुँदा तत्काल नियन्त्रण कार्यमा केही ढिलाइ भएको र केही समयपछि मात्र खोप लगाउन सकिने बताएका छन् ।
चन्द्रपुर नगरपालिका क्षेत्रमा व्यावसायिक रूपमा करिब ६ हजारको हाराहारीमा बङ्गुर पालिएका छन् । खोप अभाव र बढ्दो संक्रमणका कारण अन्य बङ्गुर पालक किसानहरू समेत यति बेला त्रसित बनेका छन् । पशु स्वास्थ्य विज्ञहरूले भने किसानहरूलाई फार्मको जैविक सुरक्षामा ध्यान दिन र संक्रमित क्षेत्रबाट पशुको ओसारपसार नगर्न सुझाव दिएका छन् ।

























