
काठमाडौं। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भए पनि त्यहाँ रहेका सबै नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । लेबनानको मेस अलजाबेलस्थित ब्लु लाइन नजिकै रहेको सैन्य शिविरमा शुक्रबार आक्रमण भएको खबर सार्वजनिक भएपछि सेनाले यस्तो जानकारी दिएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आक्रमणबाट सैनिक बस्ने घरमा सामान्य क्षति पुगेको छ तर कुनै मानवीय क्षति भएको छैन । प्रवक्ता बस्नेतले नेपाली शान्ति सैनिकहरू अहिले बङ्करमा सुरक्षित रूपमा बसिरहेको बताए । पश्चिम एसियामा तनाव बढेसँगै इरान समर्थित समूह हिजबुल्लाह र इजरायलबीच चलिरहेको द्वन्द्वको चपेटामा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (युनिफिल) अन्तर्गत खटिएका नेपाली सैनिकहरू परेका हुन् ।
अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि यस क्षेत्रमा युद्ध चर्किएको छ । सोही घटनाको प्रतिक्रियास्वरूप हिजबुल्लाहले लेबनानबाट इजरायलमाथि हवाई आक्रमण जारी राखेको छ । नेपाली शान्ति सैनिकको मुख्यालयमा भएको यस आक्रमणबारे इजरायली पक्षबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
























