
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाली समुदायका लागि विशेष अपिल जारी गरेको छ। दूतावासले ‘एडभाइजरी–३’ जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका सामग्री, संवेदनशील भिडियो वा तस्बिरहरू पोस्ट नगर्न सचेत गराएको हो।
दूतावासका अनुसार सुरक्षा परिस्थितिसँग सम्बन्धित अपुष्ट सूचना वा भिडियोहरू डिजिटल माध्यमबाट प्रसारण वा सेयर गर्दा भ्रम फैलिन सक्ने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ। यूएईको कानुन उल्लंघन गर्ने वा अनुमति बिनाका गतिविधिमा सहभागी हुनेलाई १ देखि ३ वर्षसम्म कैद र १ देखि २ लाख दिरामसम्म जरिबाना हुन सक्ने दूतावासले उल्लेख गरेको छ।
यसैगरी, मिसाइल वा ड्रोन अवरोधका क्रममा जमिनमा खसेका अवशेषहरूको नजिक नजान, तस्बिर नखिच्न र तिनलाई सार्वजनिक नगर्न पनि नेपालीहरूलाई भनिएको छ। आधिकारिक जानकारीका लागि यूएईका सरकारी निकाय र दूतावासको फेसबुक पेज मात्र हेर्न सुझाव दिँदै सबै नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न अपिल गरिएको छ।
























