
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा आएको ठूलो राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्दै प्राप्त दुई तिहाइ बहुमतलाई विगतमा जस्तै खेर जान नदिन नवनिर्वाचित राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार विपुल पोखरेलको पुस्तक ‘सङ्कल्पन’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
वर्तमान समयलाई डिजिटल युगको रूपमा व्याख्या गर्दै डा. यादवले जनताले ल्याएको परिवर्तनलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्नेमा जोड दिए । आफ्नो पार्टी पराजित हुँदा मन दुख्नु स्वाभाविक भए पनि समग्र परिवर्तनलाई आत्मसाथ गर्नु आवश्यक रहेको उनको भनाइ थियो । “लामो समयपछि नेपालमा कुनै एक दलले फेरि दुई तिहाइ बहुमत प्राप्त गरेको छ, म शुभकामना दिन चाहन्छु, तर यो दुई तिहाइ बहुमत विगतमा जस्तै खेर नजाओस्,” उनले भने ।
पूर्व राष्ट्रपति यादवले लोकतन्त्र, संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा धर्मनिरपेक्षता जस्ता संविधानका मूल मर्मको संरक्षण गर्नुपर्ने बताए । उनले निर्वाचित प्रतिनिधिहरूले विधिको शासन अनुसार संविधानको रक्षा गर्दै देश निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए । “अहिले निर्वाचित भएर आएकाहरूले देश बनाउनको लागि यो संविधानलाई रक्षार्थ पालना गरेर अगाडि बढ्नुपर्छ । त्यो भित्र सारा कुरा छ,” उनले थपे ।
विपुल पोखरेलको पुस्तक ‘सङ्कल्पन’ इतिहासकार, राजनीतिज्ञ, पत्रकार र समाज निर्माता सबैका लागि उत्तिकै महत्त्वपूर्ण र पठनीय रहेको डा. यादवले उल्लेख गरे । पुस्तकले समाजका विभिन्न आयामलाई समेटेको भन्दै उनले लेखकको प्रयासको प्रशंसा गरे ।
























