
विराटनगर । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेँसीमा बुधबार अवतरणका क्रममा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले हेलिकोप्टर दुर्घटनाको पुष्टि गर्दै घटनामा कुनै मानवीय क्षति नभएको बताइन् । उनका अनुसार हेलिकोप्टरमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । तर, एकजना सामान्य घाइते भएका छन् ।
खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएका छन् । खुट्टामा चोट लागेका उनको अवस्था सामान्य रहेको जनाइएको छ । हेलिकोप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।
स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार हेलिकोप्टर बारीमा अवतरण गर्ने क्रममा असन्तुलित भई दुर्घटनामा परेको हो । गाउँपालिका अध्यक्ष समीर राईले सुरुमा डिलमा अवतरण गर्न खोजिएको हेलिकोप्टरलाई पुनः उठाएर बारीको बीचतिर लैजान खोज्दा दुर्घटना भएको जानकारी दिए ।
वडाध्यक्ष मिलन राईले घटनामा एकजना घाइते भएको पुष्टि गर्दै आफू घटनास्थलतर्फ जाँदै गरेको बताएका छन् । घटनापछि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । थप विवरण आउन बाँकी छ ।
दुर्गम क्षेत्रमा अवतरणको चुनौतीबीच ठूलो दुर्घटना टरेको छ । हेलिकोप्टर काठमाडौंबाट शव लिएर आएको भन्ने हल्ला मात्रै रहेको बताइएको छ । बिरामी लिन पनि नआएको र पारिवारिक कामका लागि चार्टर गरेर ल्याइएको जनाइएको छ ।


















