मोरङको बूढीगंगामा भीषण आगलागी : मुसहर बस्ती खरानी, सर्वस्व सकिएपछि रुवाबासी

Share this
781shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ चैत ४, बुधबार १८:११

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ मा बुधबार दिउँसो भीषण आगलागी हुँदा मुसहर बस्ती जलेर खरानी भएको छ ।

प्रहरीका अनुसार कोशी लोकमार्गको गोकुवा चोकबाट करिब डेढ किलोमिटर पूर्वतर्फ रहेको बस्तीमा दिउँसो २ बजेतिर अचानक आगलागी सुरु भएको थियो । आगो तीव्र गतिमा फैलिँदा बस्तीका ११ वटा घर एकैछिनमा जलेर खरानी भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए । बस्तीका घरहरू कर्कटपाता र बाँसको टाटीबेराले बनेका भएकाले आगोले छिट्टै विकराल रूप लिएको उनको भनाइ छ ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय नेमुवाबाट सई अशोक कार्कीको नेतृत्वमा टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय मोरङबाट वरिष्ठ सई राजेन्द्र कटवालको नेतृत्वमा टोली परिचालन गरिएको थियो । विराटनगर महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सक्रियताले करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको जानकारी लामिछानेले दिए । उनका अनुसार आगो नियन्त्रणमा आइसक्दा बस्तीका अधिकांश घर जलेर पूर्णरूपमा ध्वस्त भइसकेका थिए । घटनामा मानवीय क्षति भने भएन ।

प्रहरीका अनुसार स्थानीय सोनी ऋषिदेवको घरबाट अचानक आगलागी सुरु भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट हुँदा घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ । डीएसपी लामिछानेले भने, ‘आगलागी कसरी सुरु भयो भनेर ठ्याक्कै पत्ता लाग्न सकेको छैन । अनुसन्धान जारी छ ।’

घटनामा १ करोड १७ लाख रूपैयाँ बराबरको क्षति भएको उनले बताए । उनका अनुसार घर जल्दा सुनील ऋषिदेव र रामदेव ऋषिदेवको ८–८ लाख र राजकुमार ऋषिदेवको ९ लाख रूपैयाँ बराबरको क्षति भएको छ । सोनी ऋषिदेव, गेमु ऋषिदेव, चैता ऋषिदेव, कमलेश ऋषिदेव र तिलकु ऋषिदेवको १०–१० लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी लामिछानेले दिए । लामिछानेका अनुसार प्रकाश ऋषिदेव, उतिम ऋषिदेव र उमा ऋषिदेवको १५–१५ लाख रूपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ ।

घटनापछि बस्तीका पीडित परिवारहरूको बिचल्ली भएको छ । भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर मुसहर समुदायका परिवारहरूको आश्रय नै नष्ट भएपछि उनीहरू खुला आकाशमुनि आइपुगेका छन् । घरसँगै घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुनचाँदी, नगद र दैनिक प्रयोगका सबै सामग्री जलेपछि ऋषिदेव परिवारहरु अत्यन्तै कठिन अवस्थामा पुगेको वडा सदस्य लोकनाथ चौधरीले बताए ।

‘आगलागीपछिको दृश्य अत्यन्तै दर्दनाक छ । बस्तीभरि रुवाबासी चलेको छ भने बालबालिका, वृद्धवृद्धा र महिलाहरू अत्यन्तै त्रासमा छन्,’ चौधरीले भने, ‘केही नभएका अति नै विपन्न ऋषिदेव परिवारहरुको सबै सकियो । शरीरमा लगाएका कपडाबाहेक केही पनि जोगिएन ।’ चौधरीका अनुसार यस घटनाले मुसहर समुदायको असुरक्षित बसोबास र विपद् व्यवस्थापनको कमजोर तयारीलाई उजागर गरेको छ । समयमै प्रभावकारी राहत, अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था नगरे पीडित परिवारहरूको अवस्था झन् जटिल बनेर जाने उनको भनाइ छ ।

वडाध्यक्ष तिलकनाथ मण्डलले मुसहर बस्तीमा अचानक लागेको आगोले करिब ४५ मिनेटभित्रै ११ वटा घर पूर्णरूपमा ध्वस्त बनाएको बताए । घटनास्थल बूढीगंगा–३ र ४ को सिमानामा पर्छ । ‘आगलागीपछि ऋषिदेव परिवारहरु आश्रयविहीन बनेका छन् । आगोले उठिबास बनाएपछि बस्तीमा रुवाबासी चलेको छ । पीडितहरुलाई सम्हालिन गाह्रो परिरहेको छ,’ वडाध्यक्ष मण्डलले भने । कमजोर र टाटीबेराले बनाइएका संरचना एवं एकै ठाउँमा रहेका झुरुप्प घरहरुका कारण आगो तीव्र गतिमा फैलिएर छोटो समयमै ठूलो क्षति पुगेको उनको भनाइ छ ।

‘घरहरुको कमजोर बनावटले गर्दा आगो नियन्त्रणमा लिन निक्कै असहज हुँदा एकैछिनमा बस्ती स्वाहा भयो । तत्काल सावधानी अपनाउन नसकेको भए अझै धेरै क्षति पुग्ने थियो । सुरक्षाकर्मी र स्थानीयले जोखिम मोलेर केही घरहरु भत्काएपछि आगो थप फैलिन पाएन,’ उनले भने, ‘तर, आगो नियन्त्रणमा आइसक्दा धेरै घरहरु जलिसकेका थिए । घरसँगै अति विपन्न परिवारको सर्वस्व सकिएको छ । पीडितहरुले घरभित्रबाट केही निकाल्नै पाएनन् ।’

उनका अनुसार घरभित्र रहेका ग्यास सिलिन्डर विस्फोट हुँदा आगो अझ तीव्र गतिमा फैलिएको थियो । प्रहरी र स्थानीयले बस्तीको बीचमा रहेका केही घर भत्काएर आगो थप फैलिनबाट रोक्ने जोखिमपूर्ण प्रयास गरेका थिए । आगलागी नियन्त्रणमा लिनलाई खटिएका एक प्रहरी भन्छन्, ‘आगोले भेट्नै लागेका घर भत्काएपछि आगो थप फैलिन सकेन । सिलिन्डर विस्फोट भइरहेका बेला जोखिम मोलेर घर भत्काइएको हो ।’

आगलागीबाट प्रभावित परिवारहरू भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर भएका कारण उनीहरु थप संकटमा परेको वडाध्यक्ष मण्डलको भनाइ छ । उनका अनुसार स्थानीय काममा गएका बेला अचानक आगलागी भएको पाइएको छ । मुसहर समुदायको असुरक्षित बसोबास र कमजोर आपतकालीन तयारीका कारण क्षणभरमै धेरै क्षति भएको प्रहरीको भनाइ छ ।

वडा सदस्य चौधरीले पीडित परिवारलाई तत्काल राहत, अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको बताए । ‘जनप्रतिनिधि भएको नाताले हामीले गर्न सक्नेजति सहयोग गरिरहेका छौं । तर, पीडितको पूर्ण व्यवस्थापन हाम्रो काबुभन्दा बाहिरको विषय बन्यो,’ उनले भने, ‘आगलागीले ठूलो मानवीय संकट निम्त्याएको छ । प्रभावकारी राहत एवं पुनःस्थापनाको व्यवस्था नभए पीडितहरूको अवस्था अझ जटिल बन्छ ।’

चौधरीका अनुसार सुरक्षाकर्मी र समुदायको साझा प्रयासले आगो नियन्त्रणमा आएर थप क्षति हुन नपाए पनि बस्तीका घरहरू र जीवनयापनका सबै साधन नष्ट भएपछि पीडित परिवारका लागि दीर्घकालीन सहयोग अपरिहार्य छ । उनका अनुसार तत्कालका लागि पीडितहरुलाई जनता आधारभूत विद्यालयमा राखिएको छ । आगोका कारण सर्वस्व गुमाएका पीडितको व्यवस्थापनमा जनप्रतिनिधिको हिसाबले सक्दो सहयोग जारी राख्ने बताउँदै वडा सदस्य चौधरीले सामाजिक र आर्थिक रूपमा अति कमजोर समुदायलाई आगोले झन् पिल्साएको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.