
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीबाट क्षति पुगेका परिवारलाई राहत स्वरूप जस्तापाता वितरण गर्ने भएको छ। गत २ चैतको साँझ आएको हावाहुरीले घरको छानामा पूर्ण रूपमा क्षति पुर्याएका परिवारलाई नगरपालिकाले जस्तापाता प्रदान गर्ने तयारी गरेको हो।
नगरपालिकाको तथ्याङ्कअनुसार हावाहुरीले ५२ घरको छानामा पूर्ण क्षति पुर्याएको छ। जसमा बाहुनीडाँडाका १२, डिकुवाका ४, च्यास्मीटारका २८, धितुङका ३ र राजापानीका ५ घर परिवार रहेका छन्। मेयर विमला राईले खुला आकाशमुनि बस्न बाध्य पीडितहरूलाई विपद् व्यवस्थापन कोषबाट जस्तापाता खरिद गरी तत्काल उपलब्ध गराउने जानकारी दिइन्।
थप राहतका लागि चैत ९ गतेको हिउँदे सभामार्फत बजेट संशोधन गरेर रकम जुटाइने मेयर राईले बताइन्। हाललाई नगरपालिकाले ३१ परिवारलाई त्रिपाल वितरण गरिसकेको छ भने घरको आकारअनुसार जस्तापाता प्रदान गरिने जनाएको छ। हावाहुरीले छाप्रो उडाएर विचल्लीमा परेका तीन परिवारलाई ढुङ्गामाटोको घर निर्माण गरिदिने योजना समेत नगरको छ।
हावाहुरीले निजी घर मात्र नभई ७ वटा विद्यालयमा समेत क्षति पुर्याएको छ। बाहुनीडाँडास्थित मालिकादेवी मावि, पञ्चावतीदेवी आवि र बेलडाँडा आविको छाना उडाएको छ। त्यस्तै च्यास्मीटारका नमुना र देउराली आधारभूत विद्यालय तथा राजापानीका जलन्धारा र सरस्वती आधारभूत विद्यालयको छाना पनि छरपस्ट भएको छ। बाहुनीडाँडाको बरडाँडा सामुदायिक खोपकेन्द्रका साथै विभिन्न सामुदायिक संस्था र मण्डलीहरूमा समेत क्षति पुगेको वडाध्यक्ष रुद्र राईले बताए।
























