
काठमाडौंं । अमेरिका, इजरायल र इरानबीच जारी तनावले विश्व शान्ति खलबलिएको भन्दै काठमाडौँमा प्रदर्शन भएको छ। युद्ध तत्काल अन्त्य हुनुपर्ने माग राख्दै मानव अधिकार तथा शान्ति समाजले बिहीबार एकैदिन तीनवटै देशका कूटनीतिक नियोगअगाडि प्रदर्शन गरेको हो।
समाजका प्रतिनिधिहरूले महाराजगन्जस्थित अमेरिकी राजदूतावास, लाजिम्पाटस्थित इजरायली राजदूतावास र दरबारमार्गस्थित इरानी कन्सुलेट कार्यालयअगाडि उभिएर शान्तिको अपिल गरे। उनीहरूले युद्धले निम्त्याएको मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गर्दै वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले युद्ध रोक्न र निर्दोष नागरिकको जीवन रक्षा गर्न विश्व समुदायलाई दबाब दिनुपर्नेमा जोड दिए। पछिल्लो समय पश्चिम एसियामा बढ्दै गएको सैन्य तनावले विश्वभर नै असुरक्षाको वातावरण सिर्जना गरेको उनीहरूको ठहर छ।
























