वरिष्ठ गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’ काठमाडौं । प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान–२०८२’ बाट वरिष्ठ गीतकार किरण खरेललाई सम्मानित गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा आयोजित एक विशेष समारोहका बीच वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई उक्त सम्मान प्रदान गरे ।
सम्मानको साथमा नगद राशि १ लाख १११ रुपैयाँ र सम्मानपत्र रहेको छ । सो अवसरमा स्व. परशु प्रधानका परिवारका सदस्यहरूले समेत खरेललाई सम्मान अर्पण गरेका थिए ।
सम्मान अर्पण गरेपछि बोल्दै प्रा.डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै स्व. परशु प्रधानको कथाकारितामाथि चर्चा गरे । उनले प्रधानका कथाहरूको अब नयाँ दृष्टिकोणबाट पुनर्मूल्यांकन गरिनुपर्नेमा जोड दिए । ‘मेरो विचारमा अब नयाँ पद्धतिका साथ उनका कथाहरूको समीक्षा र मूल्यांकन हुनु आवश्यक छ,’ श्रेष्ठले भने ।
कार्यक्रममा गीतकार रमण घिमिरेले सम्मानित व्यक्तित्व किरण खरेलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे । उनले गीत लेखन खरेलको ‘लत’ नै भएको बताउँदै उच्च शिक्षा हासिल गरेर पनि अन्य पेसामा नलागी उनी निरन्तर गीत सिर्जनामै समर्पित रहेको उल्लेख गरे । घिमिरेले खरेललाई नेपाली गीत सिर्जनाको एउटा ‘महाविद्यालय’ को संज्ञा दिँदै कुशल उद्घोषकको रूपमा पनि उनको पहिचान उच्च रहेको बताए ।
यस्तै, गीतकार दिनेश अधिकारीले खरेललाई ‘हिउँदको खोला’ सँग तुलना गर्दै उनी शान्त तर निरन्तर रूपमा सिर्जनाकर्ममा लागिपरेको बताए । आज नेपाली गीतले जुन उचाइ हासिल गरेको छ, त्यसको मुख्य श्रेय खरेललाई नै जाने अधिकारीको तर्क थियो ।
साहित्यकार शैलेन्द्र साकारले परशु प्रधानसँगका अविस्मरणीय पलहरू स्मरण गर्दै किरण खरेलले प्रधानका कथाहरूलाई रेडियो नेपालमा ‘गीति कथा’ का रूपमा प्रसारण गर्न महत्त्वपूर्ण सहयोग पुर्याएको जानकारी दिए ।
स्रष्टा परशु प्रधानका छोरा प्रतीक प्रधानले बुबाको स्मृतिमा ४ दिदी भाइ मिलेर यो सम्मान स्थापना गरेको बताए । उनले भने ‘हामी आज जुन अवस्थामा छौँ, त्यसमा बुबाको साहित्य साधनाको ठुलो योगदान छ । साहित्यकार भनेका समाजका रत्न हुन् भन्ने कुरा हामीले बुबाबाटै सिकेका हौँ ।’



















