कविता: निरङ्कुशताको बिम्ब

Share this
639shares
मुलुकी खबर
प्रकाशचन्द्र खतिवडा 
clock२०८३ आश्विन १७, शनिबार ०८:४३
कविता: निरङ्कुशताको बिम्ब

म रुने छैन
मेरो आफ्नै कथा पढ्दा
म शूली चढ्न तयार थिएँ
विद्रोहमा सामेल हुँदा
मैले माटो छोएर कसम खाएको थिएँ
आमा म गर्नेछैन राष्ट्र घात
म गर्नेछैन जनघात
जल्लादको पाउमा शिर जोती ।

मैले राष्ट्रियता उचाले
खोजे मैले मुलुकको सीमारेखा
पढेँ बलभद्रको गाथा
पढेँ बिसे नगर्चीको अलिखित इतिहास
अनि च्यातिदिएँ
जर्नेल जिलेस्पीको लालची पत्र ।

म मरुँला
देश मर्न हुँदैन
आमा रोलिन
देश रुनुहुँदैन
शहीदका सपना अधुरै होलान्
सपना पूरा गर्न पनि
मेरो शहादत मात्रै काफी नहोला
म तयार छु
बलिवेदीमा होमिन
मलाई बलिवेदीमा होम
देशको स्वतन्त्रता बच्छ भने ।

मेरो लासमाथि टेकेर
सैतान राक्षसी हाँसो हाँस्दै
कथित विजयको हुँकार पिट्ने छ
मदिराको नशाले लट्ठिएर
बिर्सने छ आफ्नै मृत्यु
र सम्भोग गर्ने छ मध्य दिउसै
नर्तकीसँग जिस्कँदै ।

मलाई बलिवेदीमा चढाइएन भने
म उठाउने छु
दासत्व मोचनको कुरा
अनि उठाउने छु
स्वतन्त्रताको कुरा
र देखाउने छु
जङ्गबहादुरको भीमकाय सालिक
निरङ्कुशताको बिम्ब मान्दै
इतिहासको काल खण्ड बाट ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×