जितिया : आमाको आँसुबाट जन्मिएको एउटा लोकपर्व

Share this
661shares
मुलुकी खबर
यादव शर्मा
clock२०८३ आश्विन १७, शनिबार ०९:०९

एउटी आमाको आँसु । आफ्नो सन्तान गुमाउने डरले छटपटिएको एउटा हृदय । अनि त्यो पीडा देखेर अरूको सन्तान बचाउन आफ्नो जीवन नै दाउमा राख्ने एक पात्र । जितियाको कथा यतिमै सीमित छैन, तर यसको मूल भाव यहीँबाट सुरु हुन्छ ।

मिथिला क्षेत्रमा शताब्दियौँदेखि मनाइँदै आएको जितिया सन्तानको दीर्घायु र सुरक्षाका लागि आमाहरूले गर्ने कठिन व्रत हो । तर यसलाई केवल व्रतका रूपमा बुझ्दा यसको सांस्कृतिक गहिराइ छुट्छ । जितियामा मातृत्वसँगै प्रकृति, स्थानीय जीवनशैली, दिवङ्गत पूर्वजको स्मृति र सामाजिक समानताको भाव पनि जोडिएको छ ।

जितियामा पूजिने जिमूतवाहनको कथामा एउटी वृद्ध नागआमाको विलापले महत्त्वपूर्ण भूमिका खेल्छ । आफ्नो एकमात्र सन्तान शङ्खचूड गरुडको आहारा बन्ने भएपछि उनी विलाप गरिरहेकी हुन्छिन् । त्यो दृश्य देखेर जिमूतवाहनले शङ्खचूडको ठाउँमा आफूलाई प्रस्तुत गर्छन् र अरूको सन्तान बचाउन आफ्नो प्राण जोखिममा राख्छन् । यही कारण उनी सन्तान रक्षाका देवताका रूपमा पूजिँदै आएका छन् ।

यस अर्थमा जिमूतवाहन स्वयं आमाको पीडाबाट जन्मिएको प्रतीकजस्तो देखिन्छन् । जीवित आमाले सन्तानका लागि तप गर्ने र दिवङ्गत आमाहरूलाई सम्झने जितियाको परम्परामा मातृत्व व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पुस्तौँ जोड्ने भाव बन्छ ।

जितियाको अर्को रोचक पक्ष ‘माछ–मडुआ’ हो । लामो निर्जला व्रत सुरु हुनुअघि माछा र कोदो खाने चलन छ । अरू समयमा सामान्य वा कम महत्त्वको मानिने कोदो तथा स्थानीय खाद्यवस्तुलाई पर्वको विधिमै स्थान दिनुले स्थानीय उत्पादन, खाद्य विविधता र पुर्खाहरूको व्यावहारिक ज्ञानसँग यसको सम्बन्ध देखाउँछ ।

जितियाका पूजा सामग्री र विधिमा पनि प्रकृति नजिकबाट जोडिएको छ । पोखरीमा स्नान, तोरीको तेल, खरी, घिरौँलाको पात, विभिन्न फलफूल तथा बाँस, केरा, जिम्हर र मानका पातको प्रयोगदेखि पाकडिको रुख, चिल र स्यालसम्मका प्रसङ्गले पर्वको लोकचरित्रलाई उजागर गर्छन् ।

तर जितियाको सबैभन्दा भावुक पक्ष हो- ‘पितराइन’ । दिवङ्गत आमा, सासू, हजुरआमा वा पालनपोषणमा योगदान गरेका महिला पूर्वजलाई सम्झेर उनीहरूका नाममा भोजन गराउने परम्परा यसमा छ । जीवित आमाले सन्तानका लागि व्रत बस्ने र दिवङ्गत आमालाई सम्झिने यो संस्कारले मातृत्वलाई पुस्तादेखि पुस्तासम्म जोड्छ ।

त्यसैले जितियालाई एउटा कठिन व्रतको रूपमा मात्र हेर्नु यसको व्यापक अर्थलाई साँघुरो बनाउनु हो । यो आमाको तप हो, दिवङ्गत मातृपुस्ताको सम्झना हो, स्थानीय अन्न र उत्पादनप्रतिको सम्मान हो र प्रकृतिसँगको सहअस्तित्वको लोकअभिव्यक्ति पनि हो ।

जितियाको सार सायद यही हो- जीवित आमाको प्रार्थना, दिवङ्गत आमाको स्मृति र सन्तानको जीवनप्रतिको अनन्त आशा ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×