बालेनको न्युयोर्क भ्रमण : चर्चा र चुनौती

Share this
673shares
मुलुकी खबर
विमल नेपाल
clock२०८३ आश्विन १०, शनिबार १०:५५

धनी देशहरूले उत्सर्जन गरेको कार्बनका कारण वातावरणमा आएको ह्रास र तापक्रम वृद्धिका कारण हिमालमा सुनामी उत्पन्न भई नेपालमा आएको बाढीको प्रकोपप्रति विश्वको ध्यानाकर्षण गर्न प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न न्युयोर्क आएका थिए। र, उनी आजै स्वदेश फर्किसकेका छन्। न्युयोर्कबाट उडिसकेका छन्, बाटोमै छन्।

करिब एक महिनाअघि नेपालमा बाढी आउनेबित्तिकै धनी देशहरूसँग नेपालले क्षतिपूर्ति माग्नुपर्छ भनेर मैले एउटा लेख लेखेको थिएँ। मेरो आशयसँग नेपाल सरकारको धारणा पनि मिल्यो र उनीहरूले संयुक्त राष्ट्रसङ्घमा आएर आफ्ना कुरा राखे। नेपालले निकै सुझबुझका साथ प्रधानमन्त्रीमार्फत संयुक्त राष्ट्रसङ्घमा आफ्नो वक्तव्य प्रस्तुत गर्‍यो, जसको हामीले उच्च मूल्याङ्कन गर्नुपर्दछ।

Advertisement

त्यो कुरा कसैलाई मन पर्‍यो, कसैलाई मन परेन, त्यो स्वाभाविकै हो। त्यसमा धेरै गुनासो नगरौँ। एउटा ‘जेन्जी’ को उदाउँदो नेताबाट हामीले जस्तो अपेक्षा गर्दछौँ, त्यो शैलीको भाषण थिएन। उनले खुरुखुरु लिखित भाषण पढे र हिँडे तर लिखित भाषण आफैँमा धेरै राम्रो थियो।

आज म उनको अमेरिका भ्रमण र संयुक्त राष्ट्रसङ्घमा सम्बोधनपछि यहाँका अन्तर्राष्ट्रिय प्रेसले उनलाई कस्तो कभरेज दिए भन्ने विषयमा सानो चर्चा गर्न गइरहेको छु।

यसैबीच, ‘द न्युयोर्क टाइम्स’ले दुईवटा सामग्री प्रस्तुत गरेको छ। एउटा उनको कालो चस्मा, स्ट्रक्चरल इन्जिनियरिङको पृष्ठभूमि र ‘जेन्जी’ पुस्ताको राजनीतिक क्रेजबारे छ भने अर्को वातावरणीय प्रभावबाट उत्पन्न बाढी, जलवायु क्षतिपूर्ति र नेपालको राजनीतिमा उनको कार्यशैली तथा चुनौतीहरूका विषयमा केन्द्रित छ। न्युयोर्क टाइम्सले उनको विशिष्ट भिजुअल ब्रान्डिङ, कालो चस्मा र ढाका टोपीलाई दक्षिण एसियाली राजनीतिमा एउटा बलियो ‘आउटसाइडर’ वा विद्रोही छविका रूपमा चित्रण गरेको छ।

त्यस्तै, युरोप र मध्यपूर्वमा निकै चर्चित अल जजिराले पनि यस विषयमा निकै राम्रो कभरेज गरेको छ। अल जजिरा संस्थापन पक्ष वा नीति निर्माताहरूको भन्दा पनि विपक्षी धारका कुराहरू प्रस्तुत गर्ने एउटा निष्पक्ष मिडिया हो, जसले बालेनलाई निकै प्राथमिकताका साथ कभर गरेको छ। अल जजिराले जलवायु कर्मचारीतन्त्रमाथि बालेनको कडा प्रहारलाई हाइलाइट गर्दै उनको भनाइ उद्धृत गरेको छ, “When a house is on fire, we do not ask the family to fill out 50 forms” (अर्थात्, ‘घर जलिरहेका बेला हामी परिवारलाई ५० वटा फारम भर्न लगाउँदैनौँ’)।

एक र्‍यापरबाट नेता बनेका यी युवाले परम्परागत कूटनीतिक दायरालाई चुनौती दिँदै नेपाललाई ५ अर्ब डलरको जलवायु न्यायको आक्रामक दाबीकर्ताका रूपमा प्रस्तुत गरे भनिएको छ।

तथापि, अन्तर्राष्ट्रिय कभरेजको हिसाबले जति हुनुपर्ने थियो, त्यति भएको मान्न भने सकिँदैन। यसमा नेपाल सरकारको ध्यान नपुगेको देखिन्छ। उनीहरूले यहाँका प्रसिद्ध विश्वविद्यालयहरूमा पत्रकार सम्मेलन गर्नुपर्ने थियो, अन्तर्राष्ट्रिय मिडिया र बौद्धिक वर्गसँग छलफल कार्यक्रमहरू आयोजना गरी ध्यान आकर्षण गर्नुपर्ने थियो।

समग्रमा भन्नुपर्दा, बालेन आफ्नै स्टाइलमा फटाफट न्युयोर्क आए, फटाफट भाषण गरे र फटाफट फर्किए। उनले दायाँबायाँ नेपाल र नेपालीको समस्याको प्रचारप्रसारका लागि अन्य ठूला प्रयासहरू गर्न भने त्यति सफल भएनन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×