
भोजपुर। बाँदरको क्षति कम हुने र बजारमा राम्रो मूल्य पाउने भएपछि भोजपुरका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन्। पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा यसको परीक्षणसँगै व्यावसायिक खेतीसमेत विस्तार हुन थालेको छ।
षडानन्द नगरपालिका–१ नेपालेडाँडाका किसान जीवन थापाले विसं २०७६ देखि मेकाडेमिया नटको व्यावसायिक खेती गर्दै आएका छन्। पोखराबाट बिरुवा ल्याएर उनले आफ्नो क्षेत्रमा करिब दुई हजार बोट लगाएका छन्।
मेकाडेमियाको बोटमा काँडा हुने र फलको बोक्रा कडा हुने भएकाले अन्य कृषि उपजको तुलनामा बाँदरबाट कम क्षति हुने थापाले बताए। बाँदरको प्रकोप रहेका पहाडी क्षेत्रमा यसको खेती गर्दा उत्पादन जोगाउन सहज हुने उनको भनाइ छ।
थापाले गत वर्ष प्रतिकिलो दुई हजार रुपैयाँका दरले करिब १ सय ५० किलोग्राम मेकाडेमिया नट बिक्री गरेका थिए। दाना छुट्याएर गुदी मात्र बिक्री गर्दा प्रतिकिलो पाँच हजार रुपैयाँसम्म मूल्य पाउने गरेको उनले बताए। आफूले लगाएका बिरुवाले तीन वर्षदेखि फल दिन थालेको उनले जानकारी दिए।
‘मैले दुई हजार बोट मेकाडेमिया नट खेती गरेको छु,’ थापाले भने, ‘यो वर्ष पनि फल टिप्ने र केलाउने काम भइरहेको छ। तर, असिनाले क्षति गरेकाले उत्पादन केही घट्ने अवस्था छ।’ गाउँघरमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव रहेको थापाले बताए। बजारमा माग बढ्दै गए पनि अहिलेको उत्पादनले माग धान्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।
कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट करिब १०० मिटरदेखि एक हजार ८०० मिटरसम्मको उचाइमा मेकाडेमिया नट खेती गर्न सकिन्छ। भोजपुरको भौगोलिक अवस्था र हावापानी यसका लागि अनुकूल रहेकाले जिल्लाका विभिन्न क्षेत्रमा खेती विस्तार गर्न सकिने थापाले बताए।
मेकाडेमिया नट किसानका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्ने देखिएपछि यसको खेती विस्तारमा जोड दिइएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। गाउँपालिकाले गत वर्ष किसानलाई नमूनाका रूपमा ४ सय बोट बिरुवा निःशुल्क वितरण गरेको उनले जानकारी दिए।
किसानबाट माग आएमा यस वर्ष पनि मेकाडेमिया नटको बिरुवा वितरण गर्ने योजना रहेको बस्नेतले बताए। अन्तरराष्ट्रिय बजारमा ‘ड्राइ फ्रुट’का रूपमा यसको माग रहेकाले व्यावसायिक सम्भावना राम्रो रहेको उनको भनाइ छ।
‘मेकाडेमिया नट खेतीबाट राम्रो आम्दानी हुने देखिएको छ,’ बस्नेतले भने, ‘मैले पनि विभिन्न ठाउँमा यसको खेती गरिएको क्षेत्रको अवलोकन गरेको छु। यसको खेती विस्तार गर्ने सोच बनाएका छौँ। यो बालीलाई बाँदरले पनि कम क्षति पु¥याउने देखिएको छ।’
पौवादुङमा गाउँपालिका–३ का युवा किसान करण राईले पनि मेकाडेमिया नट किसानका लागि लाभदायक बाली बन्न सक्ने बताए। परीक्षणका रूपमा लगाएका बोटले फल दिन थालेको उनले जानकारी दिए। ‘परीक्षणका रूपमा लगाएको बोटले फल दिन थालेको छ,’ राईले भने, ‘व्यावसायिक रूपमा खेती गर्न सके यसको बजार राम्रो हुने देखिन्छ।’
मेकाडेमिया नटबाट उत्पादन लिन केही वर्ष लागे पनि फल दिन थालेपछि लामो समयसम्म उत्पादन लिन सकिने किसान बताउँछन्। बाँदरबाट कम क्षति हुने, बजारमा राम्रो मूल्य पाइने र अन्तरराष्ट्रिय बजारमा समेत माग रहेकाले किसानले यसलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा लिन थालेका छन्।
भोजपुरका विभिन्न क्षेत्रमा परीक्षण तथा व्यावसायिक खेती विस्तार हुन थालेसँगै मेकाडेमिया नटप्रति किसानको आकर्षण बढ्दै गएको छ। स्थानीय तहले बिरुवा वितरण र खेती विस्तारमा प्रोत्साहन गर्न थालेकाले आगामी दिनमा यसको क्षेत्र थप विस्तार हुने अपेक्षा गरिएको छ।



















