
विराटनगर। नेपाली युवामाझ लोकप्रिय हिपहप र आरएनबी विधाका गीत निर्माण गर्दै आएको ‘सुपरस्टार इन्टरटेन्टमेन्ट’ केही वर्षको अन्तरालपछि पुनः सङ्गीत बजारमा फर्किएको छ। कम्पनीले फरक शैलीका अडियो तथा भिडियो निर्माणमार्फत नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पुनरागमन जनाएको हो।
यसै क्रममा सुपरस्टार इन्टरटेन्टमेन्टले शुक्रबार चर्चित कलाकार रुथलेसको स्वरमा रहेको “नखोज मेरो फाइदा तिमी” बोलको गीत सार्वजनिक गरेको छ। सन् २०१४ देखि मिक्सिङ र मास्टरिङमा सक्रिय रुथलेसले चर्चित र्यापर भीटेनदेखि याबी द गोटका धेरै गीतहरूमा म्युजिक प्रोडक्सन गरिसकेका छन्। उनले नेपाली फिल्म ‘धुलोमाण्डू’ का गीतहरूमा समेत काम गरेका छन्।
विधान प्रधानले निर्देशन गरेको यस गीतको भिडियोमा मोडल मानुषी गिरीका साथमा निर्देशक प्रधान आफैँ फिचर्ड छन्। युवापुस्ताको रुचिअनुसार अत्याधुनिक प्रविधि र आकर्षक लोकेसनमा खिचिएको यस भिडियोको बजारीकरणमा सुपरस्टार इन्टरटेन्टमेन्टले सहकार्य गरेको छ। करिब १५ वर्षअघिदेखि साङ्गीतिक क्षेत्रमा पहिचान बनाएको यस कम्पनीको सक्रियताले नेपाली सङ्गीतमा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ।



















