
धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य सेवालाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ सुधारका व्यापक कार्यक्रम अघि सारेको छ ।
सरकारले चैत १३ गते पारित गरेर शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत स्वास्थ्य सेवा सुधारसँग जोडिएको बुँदा नम्बर ८५ लाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रतिष्ठानले १३ बुँदे महत्त्वपूर्ण निर्णयहरु गरेको हो । उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले संस्थागत सुधार, सेवा प्रवाहको पारदर्शिता, बिरामीमैत्री व्यवहार र प्रविधिमैत्री प्रणालीको विकासलाई केन्द्रमा राख्दै निर्णयहरू गरेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले बताए ।
बैठकमा रजिस्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद, डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बू, कायममुकायम सहरजिस्ट्रार सागर ताम्राकार, प्रवक्ता श्रेष्ठसहित विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । प्रतिष्ठानले हालसम्म सञ्चालनमा रहेको १० प्रतिशत निःशुल्क शैय्या सेवालाई अझ पारदर्शी र उत्तरदायी बनाउन ‘रियल–टाइम लाइभ ड्यासबोर्ड’मार्फत बिरामीहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
यसबाट सेवाग्राही र सरोकारवालाले सेवाको अवस्थाका बारेमा प्रत्यक्ष जानकारी पाउने अपेक्षा गरिएको छ । त्यस्तै, बिरामी प्रेषण, पुनः सेवा तथा क्लिनिकल समन्वयलाई प्रभावकारी बनाउन ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका–२०८१’ लाई अनिवार्य रूपमा कार्यान्वयन गर्ने र आवश्यक विवरण समेट्ने सफ्टवेयर प्रणाली विकास गर्ने निर्णय गरिएको प्रवक्ता प्रा.डा. श्रेष्ठले बताए ।
संस्थाभित्रको अनुशासन र उत्तरदायित्वलाई थप कडाइका साथ कार्यान्वयन गर्न बायोमेट्रिक उपस्थितिलाई अझ प्रभावकारी बनाउँदै प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा ‘अटेन्डेन्स मोनिटरिङ कमिटी’ गठन गरिएको छ । यसले शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको समयपालन र कार्यसम्पादनलाई निगरानी गर्नेछ । साथै, सरसफाइको स्तर सुधार गर्न डा. अभिलाषा शर्माको संयोजकत्वमा ‘क्लिनलिनेस अडिट कमिटी’ गठन गरिएको छ । यो कमिटीले अस्पतालको आधारभूत सेवा मापदण्डको नियमित अनुगमन गर्नेछ ।
सेवा गुणस्तर र पेसागत व्यवहारको निरन्तर मूल्यांकनका लागि योजना, अनुगमन तथा मूल्यांकन समितिलाई थप जिम्मेवारी दिइएको छ । यससँगै अस्पताल फार्मेसीमा उपलब्ध औषधिको मौज्दात र मूल्यदरलाई पारदर्शी बनाउन ‘लाइभ फार्मेसी ड्यासबोर्ड’ विकास गरी फार्मेसीमै प्रदर्शन गर्ने र वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णयले सेवा पारदर्शितामा नयाँ अभ्यास सुरु हुने बताइएको छ ।
जलनका बिरामीहरूको उपचारलाई सहज र पहुँचयोग्य बनाउन आधारभूत सेवा तथा शैय्याशुल्क निःशुल्क गर्ने निर्णयले सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको छ । साथै, बर्न विशेषज्ञ जनशक्ति उपलब्ध गराउन मन्त्रालयसँग समन्वय गर्ने प्रक्रिया पनि अघि बढाइएको छ । अस्पतालका प्रत्येक वार्डमा सरसफाइको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गर्दै वार्ड इन्चार्जलाई प्रत्यक्ष जिम्मेवारी दिने निर्णय पनि भएको छ ।
बिरामीसँग गरिने व्यवहार सुधार गर्न ‘सर्भ विथ स्माइल’ अभियानअन्तर्गत स्वास्थ्यकर्मीहरूका लागि ‘सफ्ट स्किल’ तालिमलाई निरन्तर र प्रभावकारी बनाउने निर्णय गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । यसले सेवाको मानवीय पक्षलाई बलियो बनाउने विश्वास गरिएको छ । अस्पतालभित्र सेवाग्राहीलाई सहज रूपमा सेवा स्थान पहिचान गर्न नेपाली भाषामा संकेतसहितको ‘नेभिगेसन सिस्टम’ विकास गर्ने योजना पनि अघि सारिएको छ ।
सेवा प्रवाहलाई छरितो बनाउन टोकन प्रणालीलाई थप प्रभावकारी बनाउने र ज्येष्ठ नागरिक, गर्भवती, अपांगता भएका व्यक्ति तथा विशेष आवश्यकता भएका सेवाग्राहीलाई प्राथमिकता सुनिश्चित गर्ने निर्णयले समावेशी सेवा अवधारणालाई बल दिएको छ । साथै, सुझाव तथा गुनासो व्यवस्थापनलाई डिजिटल बनाउँदै ‘हेलो बीपीकेआईएचएस’ अनलाइन पोर्टल, क्यूआर कोडसहितको फिडब्याक प्रणाली र थप कम्प्लेन बक्सको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
बिग्रिएका उपकरणहरूको मर्मतसम्भारलाई थप प्रभावकारी बनाउन राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने प्रक्रिया अघि बढाइएको छ । साथै, सबै विभाग र शाखालाई स्पष्ट कार्ययोजना र समयसीमा निर्धारण गरी निर्णयहरुलाई शीघ्र कार्यान्वयनमा लैजान निर्देशन दिइएको प्रवक्ता प्रा.डा. श्रेष्ठको भनाइ छ ।
यी हुन् सेवा सुधारका लागि प्रतिष्ठानले गरेका निर्णयहरु



















