
काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन २८ दिनमा सम्पन्न भएको छ । फागुन २५ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा सुरु गरिएको छायांकन नियमित तालिकाअनुसार सकिएको फिल्म कोअर्डिनेटर राजन घिमिरेले जानकारी दिए ।
यो चलचित्रमार्फत रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ पछि उनको यो तेस्रो निर्देशकीय प्रयास हो । नेपाली चलचित्र इतिहासमा सम्भवतः पहिलोपटक कुनै स्थापित महिला निर्देशकले आफ्नै ब्यानर बाहिर गएर ‘दिया एण्ड अमु फिल्मस्’ का लागि निर्देशन गरेकी हुन् । यसपटक रेखा पर्दा पछाडि मात्र सीमित रहेर निर्देशनमा पूर्ण रूपमा केन्द्रित छिन् ।
चलचित्रको मुख्य आकर्षणका रूपमा चार जना पूर्व मिस नेपालहरू रहेका छन् । सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह र विशेष भूमिकामा उषा खड्गीको अभिनयले चलचित्रलाई प्रतीक्षित बनाएको छ । दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठको पनि मुख्य भूमिका रहेको यस चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावना र बुढेसकालको सहाराको कथालाई समेत समेटेको छ ।
ध्रुव लम्सालको पटकथा रहेको यस चलचित्रलाई आगामी वर्षको तीजको अवसरमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ । हरि नारायण र माया देवी श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, रवि डंगोल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

























