
एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा भएको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता कुनै पनि सम्झौतामा नपुगी समाप्त भएको छ । लामो छलफलका बाबजुद दुवै पक्षबीच सहमति बन्न नसकेपछि वार्ता विफल भएको हो ।
इरानसँग सम्बन्धित तस्नीम समाचार एजेन्सीका अनुसार अमेरिकी पक्षले राखेका कठोर र विस्तारवादी सर्तका कारण कुनै साझा समझदारी बन्न सकेन । इरानी पक्षले अमेरिकी मागहरू अत्यधिक हस्तक्षेपकारी भएको आरोप लगाउँदै वार्ता निष्कर्षविहीन भएको जनाएको छ ।
त्यसैगरी, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानी वार्ताकारहरूले अमेरिकी सर्तहरू स्वीकार नगरेका कारण सम्झौता सम्भव नभएको दाबी गरेका छन् । उनका अनुसार अमेरिकाले प्रस्तुत गरेका सर्तहरू लचिलो भए पनि इरानले आणविक हतियार त्याग्ने स्पष्ट प्रतिबद्धता नजनाएपछि सहमति हुन नसकेको हो ।
वार्ता असफल भएपछि उपराष्ट्रपति भान्स इस्लामाबादबाट अमेरिका फर्किएका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘हामी कुनै सम्झौतामा पुग्न सकेनौँ । यो अवस्था इरानका लागि अझ गम्भीर हो ।’
यसैबीच, इरानी सञ्चारमाध्यमहरूले पनि वार्ता असफल भएको पुष्टि गर्दै अमेरिकी सर्तहरू नै प्रमुख अवरोध बनेको जनाएका छन् । वार्तामा मुख्य विवादका विषयहरूमा इरानको आणविक कार्यक्रम र रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरूको सुरक्षा तथा नियन्त्रणसम्बन्धी विषय रहेको बताइएको छ ।
दुवै पक्षले एकअर्कालाई दोषारोपण गरेसँगै अमेरिका–इरानबीचको वार्ता पुनः अनिश्चित बनेको छ । वार्ता असफल भएपछि पुनः युद्ध हुनसक्ने भन्दै सर्वत्र चिन्ता बढेको छ ।



















