
जकार्ता । विश्वव्यापी रूपमा चर्किएको ऊर्जा सङ्कट समाधानका लागि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो आइतबार साँझ रुस प्रस्थान गर्दैछन् । ऊर्जा सुरक्षा र तेल आपूर्तिको विषयलाई मुख्य एजेन्डा बनाएर उनी मस्को जान लागेका हुन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने भेटवार्तामा मुख्य गरी तेल आपूर्ति, ऊर्जा बजारको स्थायित्व र विश्व भूराजनीतिक अवस्थाबारे विस्तृत छलफल हुने इन्डोनेसियाका विदेशमन्त्री सुगियोनोले जानकारी दिएका छन् । इन्डोनेसिया ठूलो अर्थतन्त्र भए तापनि इन्धनका लागि ठूलो मात्रामा आयातमा निर्भर रहनुपर्ने बाध्यता छ । मध्यपूर्वको द्वन्द्वका कारण अकासिएको तेलको मूल्यले देशको अर्थतन्त्रमा दबाब परेपछि राष्ट्रपति प्रबोवोले प्रत्यक्ष संवादको बाटो रोजेका हुन् ।
ऊर्जा सङ्कट नियन्त्रण गर्न इन्डोनेसिया सरकारले हालै इन्धन रासनिङ र सरकारी कर्मचारीका लागि हप्ताको एक दिन ुवर्क फ्रम होमु अनिवार्य गर्ने जस्ता कदम चालेको छ । रुसले यसअघि नै इन्डोनेसियालाई आवश्यक तेल आपूर्ति गर्न तयार रहेको सङ्केत दिइसकेको छ ।
ब्रिक्स समूहमा सामेल भएको इन्डोनेसियाले एकातर्फ रुस र चीनसँग सम्बन्ध विस्तार गरिरहेको छ भने अर्कोतर्फ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि व्यापार सम्झौता गरेर सन्तुलित विदेश नीतिको अभ्यास गरिरहेको छ ।



















