
एजेन्सी । हंगेरीमा १६ वर्षसम्म सत्तामा रहेका भिक्टर ओर्बान अन्ततः निर्वाचनमा पराजित भएका छन् । आइतबार सम्पन्न आमनिर्वाचनमा मतदाताले परिवर्तनको पक्षमा मतदान गर्दै विपक्षी नेता पिटर म्याग्यार नेतृत्वको ‘टिसा’ पार्टीलाई स्पष्ट बहुमत दिएका छन् ।
लामो समयदेखि सत्तामा रहेका ओर्बानको ‘फिडेज’ पार्टीले यसपटक जनताको विश्वास जोगाउन सकेन । पछिल्लो केही वर्षयता बढ्दो महँगी, सुस्त अर्थतन्त्र र युरोपेली संघसँगको निरन्तर विवादले उनको लोकप्रियतामा गिरावट आएको थियो । विशेषगरी ईयूका नीतिहरूको आलोचना र लोकतान्त्रिक संस्थामाथि नियन्त्रण बढाएको आरोपले अन्तर्राष्ट्रिय स्तरमै उनको छवि विवादास्पद बनेको थियो ।
नवनिर्वाचित नेता म्याग्यारले युरोपसँग सहकार्य बढाउने र देशको अर्थतन्त्र सुधार गर्ने वाचा गरेका छन् । उनको पार्टीले संसदमा बलियो उपस्थिति बनाउने देखिएको छ । जसले ओर्बान सरकारले ल्याएका केही विवादास्पद कानुनी व्यवस्थाहरू संशोधन गर्ने सम्भावना बढाएको छ ।
ओर्बानले हार स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् । उनले प्रतिपक्षमा बसेर पनि देशको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सन् २०१० देखि निरन्तर सत्तामा रहेका उनी युरोपेली संघभित्र सबैभन्दा लामो समय शासन गर्ने नेतामध्ये एक मानिन्थे ।
विश्लेषकहरूका अनुसार यस चुनावी परिणामले हंगेरीको आन्तरिक राजनीति मात्र नभएर युरोपेली राजनीतिमा पनि नयाँ सन्देश दिएको छ । मतदाताहरूले राष्ट्रियताभन्दा आर्थिक स्थिरता, पारदर्शिता र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको देखिन्छ ।



















