
एजेन्सी । स्ट्रेट अफ होर्मुज वरिपरि बढ्दो सैन्य तनावले विश्व ऊर्जा बजार फेरि एकपटक हल्लिएको छ । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयास निष्कर्षविहीन बनेपछि तेलको मूल्य आकस्मिक रूपमा उकालो लागेको हो ।
अमेरिकी नौसेनाले होर्मुज क्षेत्रमा नाकाबन्दी गर्ने तयारी अघि बढाएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । यो क्षेत्र विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिन्छ । जहाँबाट दैनिक ठूलो परिमाणमा तेल निर्यात हुने गर्छ । नाकाबन्दी कार्यान्वयनमा गएसँगै इरानबाट हुने करिब २० लाख ब्यारेल दैनिक आपूर्ति अवरुद्ध हुन सक्ने आकलन गरिएको छ । यसले जसले बजारमा चिन्ता थप बढाएको छ ।
सोमबार लन्डनमा ब्रेन्ट क्रुडको मूल्य करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.८० डलर पुगेको छ । त्यसैगरी, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट पनि ८.६ प्रतिशतले उकालो लाग्दै १०४.८८ डलरमा कारोबार भएको छ । छोटो अवधिको युद्धविरामपछि शान्ति सम्झौताको आशा गरिएको भए पनि वार्ता असफल भएपछि लगानीकर्ताहरू फेरि अस्थिरतातर्फ धकेलिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार होर्मुज क्षेत्रमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेका थिए । उनले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसम्म ऊर्जा मूल्य उच्च रहने संकेत दिएका छन् । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानी बन्दरगाहतर्फ जाने–आउने समुद्री आवागमनमा कडाइ सुरु भइसकेको छ ।
यस कदमप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ । इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा अमेरिकी सैन्य गतिविधिलाई उक्साहटपूर्ण भन्दै कुनै पनि हस्तक्षेपलाई युद्धविराम उल्लंघन ठहर गरिने चेतावनी दिएको छ । क्षेत्रीय सुरक्षा थप जटिल बन्ने संकेत देखिएको छ ।
यता साउदी अरबले भने युद्धका कारण क्षतिग्रस्त भएको आफ्नो इस्ट–वेस्ट पाइपलाइन मर्मत गरी दैनिक ७० लाख ब्यारेल तेल आपूर्ति गर्ने क्षमता पुनःस्थापित गरेको जनाएको छ । यद्यपि, होर्मुजमार्गमा अवरोध कायम रहेसम्म विश्व बजारमा मूल्य अस्थिरता कायम रहने ऊर्जा विज्ञहरूको आकलन छ ।



















