चीनलाई चेतावनी, होर्मुजमा नाकाबन्दी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार ०८:३२

एजेन्सी । मध्यपूर्वमा इरान र अमेरिकाबीच बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई कडा चेतावनी दिएका छन् ।

उनले इरानलाई कुनै पनि प्रकारको सैन्य सहयोग गरिएको प्रमाण भेटिएमा चीनमाथि पचास प्रतिशतसम्म भन्सार शुल्क लगाइने बताएका छन् । ट्रम्पले यसअघि पनि चीनलाई इरानलाई हतियार वा सैन्य सामग्री पठाएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

Advertisement

अमेरिकाले होर्मुजको जलडमरू क्षेत्रमा कडाइ बढाउँदै पूर्ण नियन्त्रणको कदम अघि बढाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार सोमबारदेखि उक्त समुद्री मार्गमा नाकाबन्दी गर्दै निगरानी बढाइएको छ ।

इरानका तटीय बन्दरगाहबाट जहाजहरूको आवतजावत नियन्त्रण गर्ने उद्देश्यसहित सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै अमेरिकी नौसेनालाई होर्मुजको जलडमरूमध्य पार गर्ने सबै जहाजहरूको पहिचान गर्न, रोक्न र आवश्यक परे फर्काउन निर्देशन दिएका छन् ।

उनका अनुसार इरानलाई कर वा टोल तिर्ने कुनै पनि जहाजलाई अवैध मानिनेछ र त्यसलाई मार्ग प्रयोग गर्न दिइने छैन । यसैबीच, बेलायतसहित केही पश्चिमी मुलुकहरूले होर्मुज क्षेत्रमा सम्भावित विस्फोटक उपकरण हटाउन नौसेना जहाज पठाउने तयारी गरेको जनाइएको छ । यसले उक्त क्षेत्रमा सैन्य उपस्थिति अझै बढाउने देखिएको छ ।

इरानले भने कडा प्रतिक्रिया दिँदै यदि कुनै विदेशी सैन्य जहाज होर्मुजको जलडमरूमध्य प्रवेश गरेमा युद्धविराम उल्लंघन हुने चेतावनी दिएको छ । इरानले आफ्नो सार्वभौमिकता र समुद्री अधिकारको रक्षा गर्न कुनै पनि कदम चाल्न पछि नहट्ने स्पष्ट पारेको छ ।

अन्तर्राष्ट्रिय विश्लेषकहरूले मध्यपूर्वमा ठूलो स्तरको द्वन्द्व चर्किन सक्ने जोखिम बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । तेल आपूर्ति मार्ग नै प्रभावित हुने सम्भावनाले विश्व बजारमा समेत असर पर्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.