
एजेन्सी । भारतीय राज्य बिहारमा सोमबार भएको भीषण सवारी दुर्घटनामा १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । भारतीय प्रहरीका अनुसार बस र पिकअप भ्यान एकआपसमा ठोक्किएर दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।
दुर्घटना कटिहार जिल्लाअन्तर्गत गेराबारी नजिकै भएको बताइएको छ । जुन पटना बाट करिब २७९ किलोमिटर पूर्वतर्फ पर्छ । तीव्र गतिमा गुडिरहेका दुवै सवारी एक्कासि आमनेसामने ठोक्किँदा घटनास्थलमै धेरै यात्रुले ज्यान गुमाएको प्रारम्भिक विवरण छ ।
प्रहरीका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । दुर्घटनापछि स्थानीय, प्रहरी र उद्धार टोली मिलेर घाइतेको उद्धार रेका थिए ।
घटनापछि प्रहरी प्रशासनले मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरेको छ । दुर्घटनाको कारण तीव्र गति, चालकको लापरबाही वा सडकको अवस्थासँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
यसैबीच, भारतमा बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै हरेक वर्ष करिब ५ लाख सडक दुर्घटना हुने र त्यसबाट झण्डै १ लाख ८० हजार मानिसको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । पछिल्लो घटनालाई पनि त्यही गम्भीर अवस्थाको अर्को उदाहरणका रूपमा हेरिएको छ ।
स्थानीय प्रशासनले दुर्घटनामा परेकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने जनाएको छ । साथै, सडक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा पुनः बहस सुरु भएको छ ।



















