Lavc57.107.100एजेन्सी । भारतको बिहार राज्यमा लामो समयदेखि मुख्यमन्त्री रहेका नितिश कुमारले पदबाट राजीनामा दिएपछि त्यहाँको राजनीतिक समीकरण एकाएक परिवर्तन भएको छ । उनको राजीनामासँगै अब बिहारको नयाँ मुख्यमन्त्रीका रूपमा सम्राट चौधरीलाई अघि सारिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सम्राट चौधरीले बुधबार मुख्यमन्त्री पदको शपथ लिने छन् । उनी यसअघि उपमुख्यमन्त्रीको जिम्मेवारीमा रहेका थिए । यदि शपथसँगै उनको नेतृत्वमा सरकार गठन भएमा बिहारको इतिहासमा पहिलोपटक भारतीय जनता पार्टी (भाजपा)को प्रत्यक्ष नेतृत्वमा सरकार बन्नेछ ।
सम्राट चौधरी १९६८ नोभेम्बर १६ मा बिहारको मुंगेर जिल्लाको लखनपुर गाउँमा जन्मिएका हुन् । उनी राजनीतिक रूपमा प्रभावशाली परिवारबाट आएका नेता मानिन्छन् । उनका पिता शकुनी चौधरी लामो समयसम्म विधायक र सांसद रहेका थिए भने आमा पार्वती देवी पनि विधानसभा सदस्य भइसकेकी छिन् ।
चौधरीले उच्च शिक्षा मदुरै कामराज विश्वविद्यालयबाट प्राप्त गरेका हुन् । सन् २०२५ को विधानसभा निर्वाचनमा तारापुर क्षेत्रबाट विजयी भएपछि उनी राज्य सरकारमा उपमुख्यमन्त्री बनेका थिए । त्यसपछि उनले प्रशासनिक जिम्मेवारी सम्हाल्दै सरकार सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।
यता, निवर्तमान मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिँदै आफ्नो कार्यकालमा बिहारमा सुशासन, विकास, शिक्षा, स्वास्थ्य, विद्युत् र कृषि क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन् । उनले राज्यपालसमक्ष राजीनामा बुझाउँदै आगामी सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार नितिशको बहिर्गमनसँगै बिहारमा नयाँ शक्ति सन्तुलन बनेको छ । केन्द्र सरकार र राज्य नेतृत्वबीचको नयाँ समझदारीका कारण यो परिवर्तन भएको मानिएको छ ।
अब नयाँ मुख्यमन्त्रीको नेतृत्वमा सरकारको नीति र प्राथमिकता कस्तो हुनेछ भन्ने विषयमा चासो बढेको छ । बिहारको आगामी राजनीतिक दिशा यही नेतृत्व परिवर्तनले निर्धारण गर्ने अपेक्षा गरिएको छ ।



















