
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक पुगेको दाबी गरेका छन् । फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले पश्चिम एसियामा जारी तनाव समाधानतर्फ अघि बढिरहेको बताएका हुन् ।
उनका अनुसार केही अवरोध भए पनि वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ । इरान सम्झौताका लागि उत्सुक देखिएको उनको दाबी छ । ट्रम्पले अमेरिका रणनीतिक रूपमा बलियो अवस्थामा रहेको उल्लेख गर्दै तेहरानले छिट्टै कूटनीतिक समाधान रोज्ने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच, वासिङ्टन र तेहरानबीच इस्लामाबादमा दोस्रो चरणको वार्ता हुन सक्ने चर्चा पनि सुरु भएको छ । सीएनएनका अनुसार सम्भावित वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वमा सहभागी हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै, विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नर पनि वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार कूटनीतिक पहलका लागि प्रारम्भिक छलफल भइसकेको छ । तर, अर्को चरणको वार्ताको निश्चित समय र तालिका भने अझै तय भएको छैन । वार्ता सफल भएमा लामो समयदेखिको तनाव घट्ने र पश्चिम एसियाको सुरक्षा सन्तुलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।



















