
रंगेली । धार्मिक आस्था र सांस्कृतिक रौनक एवं उत्सवले भरिपूर्ण तराई क्षेत्रमा एक महिने मेला सुरु भएको छ । तराईको धार्मिक, सांस्कृतिक र परम्परागत जीवनशैलीसँग गहिरो सम्बन्ध बोकेको सुनवर्षी ग्रामथानमा यस वर्ष पनि एक महिने ठूलो मेला सुरु भएको छ ।
मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी पोखरी परिसर वैशाख १ गतेदेखि नै भक्तजन, दर्शनार्थी तथा स्थानीय समुदायको भिडले भरिएको छ । नयाँ वर्षको पहिलो दिनदेखि सुरु भएको मेला वैशाखभर निरन्तर चल्नेछ । जसले दक्षिण मोरङ क्षेत्रलाई धार्मिक उत्सव र सांस्कृतिक भेटघाटको केन्द्र बनाइदिएको छ ।
वैशाख १ गते विशेष रूपमा सुनवर्षी महाराजको ग्रामथानमा परम्परागत पूजाअर्चना गरिन्छ । यस दिन बिहानैदेखि नै ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरी लगायत तराईका आदिवासी तथा स्थानीय समुदायका मानिसहरू आफ्नो कुलदेवताको रूपमा पूजिने सुनवर्षी महाराजको दर्शन गर्न ठूलो संख्यामा उपस्थित हुने गर्छन् ।
भक्तजनहरूले माटोबाट बनाइएका हात्ती, कागजका फूलघोडा तथा विभिन्न परम्परागत सामग्री चढाएर आफ्नो श्रद्धा प्रकट गर्ने परम्परा अझै पनि निरन्तर छ । स्थानीयका अनुसार सुनवर्षी ग्रामथान धार्मिक स्थल मात्र नभई सामुदायिक एकता, सांस्कृतिक पहिचान र विश्वासको प्रतीक पनि हो ।
यहाँ पूजा अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास लामो समयदेखि रहँदै आएको छ । स्थानीय भोलाई राजवंशी भन्छन्, ‘यहाँ पूजा गरेपछि मनले चिताएको पूरा हुन्छ भन्ने विश्वास छ । त्यसैले टाढाटाढाबाट पनि मानिसहरू आउँछन् ।’
सुनवर्षी पोखरीसँग जोडिएका पुराना किंवदन्तीहरुले यस स्थानलाई अझै रहस्यमय र आकर्षक बनाएका छन् । पोखरीमा बस्ने गोहीले भक्तजनलाई भाँडाकुँडा दिने, विवाह बटुलोका बेला आवश्यक सामान र गहना माग्दा पोखरीबाट निस्कने जस्ता कथनहरू पुस्तौँदेखि सुनिँदै आएको छ । यस्ता लोककथाले मेलाको धार्मिक महत्त्वसँगै सांस्कृतिक रोचकता पनि थपेको देखिन्छ ।
तीन बिघा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको सुनवर्षी ग्रामथान परिसर अहिले पूर्ण रूपमा मेला स्थलमा परिणत भएको छ । रंगीन झाँकी, पूजा सामग्री, अस्थायी पसलहरू, खानेपानी र भिड व्यवस्थापनका लागि स्थानीयस्तरमा विशेष तयारी गरिएको छ । बिहानदेखि बेलुकासम्म भक्तजनहरूको आवागमन निरन्तर रहने भएकाले क्षेत्र नै उत्सवमय बनेको देखिन्छ ।
मेलाको विशेषता वैशाख १ गतेको पूजामा सीमित छैन । वैशाख २ गते काटा मेला, ३ गते दर्वेशा र ६ गते कालीथान मेलासमेत उत्तिकै महत्त्वपूर्ण मानिन्छ । यी सबै धार्मिक तथा सांस्कृतिक गतिविधिहरूले समग्र वैशाख महिनाभर दक्षिण मोरङलाई धार्मिक पर्यटनको केन्द्र बनाउने गर्छन् । प्रत्येक दिन फरकफरक समुदायका मानिसहरूको सहभागिताले मेलालाई बहुसांस्कृतिक स्वरूप प्रदान गरेको छ ।
त्यहाँमाथि यो मेला स्थानीय परम्परामा सीमित छैन । पूर्वी तराईका झापा, मोरङ र सुनसरीका विभिन्न भागहरूबाट मात्र नभएर छिमेकी भारतका सीमावर्ती क्षेत्रहरूबाट समेत भक्तजनहरू यहाँ आउने गर्छन् । यसले सुनवर्षी ग्रामथानलाई सीमापार धार्मिक सम्बन्धको प्रतीक पनि बनाएको छ ।
समुदायका अनुसार यो मेला स्थानीयको जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ । कृषि, मौसमी चक्र र परम्परागत विश्वाससँग गाँसिएको यो उत्सव वर्षभरको मुख्य धार्मिक भेटघाटको अवसर पनि हो । मेलामा युवायुवतीको उपस्थिति पनि उल्लेखनीय देखिन्छ । जसले परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने काम गरिरहेको छ ।
सुनवर्षी ग्रामथान मेला पूजा र भजनमा मात्र सीमित नभई सामाजिक भेटघाट, सांस्कृतिक आदानप्रदान र आर्थिक गतिविधिको केन्द्र बनिरहेको छ । अस्थायी पसल, स्थानीय उत्पादनको बिक्री, परम्परागत खाद्य परिकार र हस्तकला सामग्रीको कारोबारले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाइदिएको छ ।
मोरङको दक्षिणी भेगमा सुरु भएको सुनवर्षी ग्रामथान मेला धार्मिक आस्था, लोकविश्वास, सांस्कृतिक परम्परा र सामाजिक एकताको संगम बनेको छ । वैशाखभर चल्ने मेलाले स्थानीय जीवनमा मात्र नभई सम्पूर्ण तराई क्षेत्रको सांस्कृतिक पहिचानमा गहिरो छाप छोड्ने अगुवाहरुको भनाइ छ ।



















